• ८ मंसिर २०८१, शनिबार

चुरे विनाश जल सङ्कट

blog

भारतीय कवि रहिमनले पानीलाई गजपको विम्ब बनाएका छन् । “रहिमन पानी राखिए, बिन पानी सब सुन । पानी गए न उबरे, मोती मानुष चुन ।” चमकबिना मोती, जलबिना चुना र लज्जाबिना मनुष्यको मोल हुँदैन भन्ने रहिमनको भनाइ स्वाभिमान तथा लज्जाको रक्षा एवं अक्षुण्णता र वस्तुप्रयोगको पूर्णताको व्याख्या गर्छ । खास तत्वको अभावमा महत्वपूर्ण र अपरिहार्य वस्तु पनि मूल्यहीन हुने बोध गराउँछ तर वैदिककालदेखिको पानी–सहित्यले मनुष्य, पशुपन्छी, बोटबिरुवा र सिङ्गो प्रकृतिकै लागि पानी उपयोगी र आवश्यक छ भन्ने कुरा नै अथ्र्याउँछ । अझ जीवनदायिनी स्रोत र शक्तिबिना मानिसले ‘बलविद्या देहु मोही हरहु कलेश विकार’ सम्म भन्न सक्दैनन् । 

जलउत्पन्न प्रकोप नियन्त्रण विज्ञ रत्नेश्वरलाल कर्णका शब्दमा ‘रहिमनले आफ्नो दोहामा सृष्टिको निरन्तरता र जीवन अस्तित्वका लागि पानीको सर्वकालिक आवश्यकताबारे बोलेका छन् ।’ अर्का जलविज्ञ इन्जिनियर अजय दीक्षितले सबैभन्दा उत्तम सृष्टि अर्थात् प्रकृतिको सौन्दर्य नै पानीमा टिकेको र ईश्वरको यो श्रेष्ठ सिर्जन सङ्कटमा परिरहेको बताउँछन् । जनकपुरधाम साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको मञ्चमा गत साता ‘पानी बिनु परलै अकाले हो राम’ शीर्षकमा राजनीतिकर्मी, विज्ञ र अभियन्ताले एकसाथ ‘भूजल सङ्कट’ का बारेमा चिन्ता फिकिर गरे । पानी अभाव, यसबाट उत्पन्न परस्थिति र समाधान आदि खोज्ने गर्ने दृष्टिले मैथिली विकास कोषको आयोजनामा भएको यो अन्तर्संवाद पानी सङ्कटको वस्तुगत यथार्थ उधिन्न एउटा ठोस ‘डेग’ बन्यो । वेदपुराण, उपनिषद्, महात्म्य जस्ता धर्म एवं धार्मिक ग्रन्थ, लोकसाहित्य, लोकगाथा र साहित्य–सिर्जनका हरेक कालखण्डमा पानीको विशद् चर्चा भएका छन् । विभिन्न समुदायका धर्म, संस्कृति, परम्परा तथा लोकव्यवहारसँग जोडिएका हरेक उत्सव र रीतितिथिमा पानी प्रयोगको विधान छ । युगयुगान्तरका जीवनदर्शन, प्रकृति प्रेम, रूपक, प्रतीक र विम्बबाट बनेका अनेकन भाष्यका स्रोत नै जल बनेको छ । अहिलेका जलचर्चामा पानीको पर्याप्तता, पवित्रता र सहज उपलब्धता जस्ता विषय केन्द्रमा छ । ऋतुको मर्यादा र निश्छलता गुम्ने गरी पानीका परम्परागत स्रोत हराइरहेका/सुकिरहेका छन् । भूमिगत जलस्रोतका नयाँ तौरतरिका रुग्न र कमजोर बन्दै गएका छन् । तिनलाई यथास्थितिमा राख्ने काम पनि झन्झटिलो र खर्चिलो छ ।

तराई मधेशमा पानीको काकाकुल 

पानीका मुहान र भूमिगत जलस्रोतहरू घट्दै जाँदा उत्पन्न सङ्कटको एउटा कहालीलाग्दो दृश्य बितेको गर्मीयाममा तराई मधेशमा चर्कै देखियो । चुरे र मुन्तिरका बासिन्दा काकाकुल भए । तिर्खा मेट्न मधेश प्रदेशका वीरगन्ज र जनकपुरधाम जस्ता सहरमा महिला र बालबालिकाले नसुकेका ‘चापाकल’ र ट्याङ्करबाट पानी ओसार्न डोल/गिलन बोकी परपर भौतारिन बाध्य भए । सिँचाइ र अन्य कामका लागि पानी जोहो गर्ने काम दुष्कर बन्यो । महिला र बालबालिकाका श्रम, सिप र सङ्घर्ष पानी खोज्न र ओसार्नमै व्यतीत भयो । रातदिन पानीकै सर्जाममा लाग्दा महिलाको बोझ मात्र भारी भएन, बच्चाहरूको लेखपढ नै बाधित भयो । 

सहरका अतिक्रमित, प्रदूषित र गहिरिँदै गएका कुँवा इनारबाट पिउनका लागि पानी तान्न सक्ने अवस्था रहेन । जनकपुरधामका कङक्रिट संरचनाले घेरिएका असङ्ख्य पोखरीमा पनि पानी कम भयो । कतिपय डिप ट्युबवेल सुके । तीन दशकअघि ४० फिटमा पानी आउने तराई मधेशमा ४५० फिटबाट पानी ल्याउनुपर्ने अवस्था सिर्जना भयो । सहरबजारसँगै गाउँघरमा पनि पानी अभाव विकराल बन्यो । वीरगन्ज महानगरपालिकाका ३२ वडामध्ये १८ वडाका चापाकल सुके र ग्रामीण वडा रहेका धनुषाको हँसपुर नगरपालिकाका ९० प्रतिशत चापाकलमा पानी आएन । बर्दिबास नगरपालिकामा पर्ने किसाननगरका इनारमा डोल बाँध्ने डोरीको सङ्ख्या बढ्यो र लम्बाइ तन्कियो । यहाँका बासिन्दालाई सबमरसिबल (पानीभित्र राखिने) पम्पले पानी तान्नुपर्ने भयो । 

वनविज्ञानको भाषामा वीरगन्ज र जनकपुरधाम तराई हुन् । चुरेको फेदसँगै जोडिएको दक्षिणी बस्ती किसाननगर भावर हो । भावरको सिरान चुरेको पर्वतशृङ्खला छ । यो क्षेत्र कमलो, खुकुलो, खस्रो बालुवा, सिल्ट–पाङ्गो माटो, हिलोमाटो र गोलो ढुङ्गाबाट बनेको छ । चुरे सबैभन्दा कान्छो पहाड पनि हो । राष्ट्रपति तराई तराई मधेश संरक्षण समितिका अनुसार चुरे नेपालको पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म फैलिएको र बढी जसो ठाउँमा तराईको भूभाग सकेर उठेको तथा महाभारत क्षेत्रको भूभागबाट ओर्लिंदा भेटिने अन्तिम पहाड हो । सामान्यतया पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारत भएर बग्ने नदीहरू यो क्षेत्र भएरै तराईतिर बग्दा यस ठाउँलाई प्राकृतिक रूपले संवेदनशील मानिन्छ । चुरेसँगै तराईको उत्तरी र चुरे पर्वतमालाको दक्षिणमा सामान्यतया ८ देखि १० माइलसम्म चौडाइ भएको भावर क्षेत्रमा पानी अभावको तस्बिर गाग्रा लिएर कोसौँ टाढासम्म पानी ओसार्दै गरेको मानवलस्करमा देख्न सकिन्छ । ढुङ्गाका कारण चुरेभावरमा डिप बोरिङ गर्न सकिँदैन, इनार खन्न सकिन्छ तर सबै इनारमा पानी आउँदैन । माथि जलसतह भएका ठाउँका इनारबाट पानी ओसार्नुपर्ने  हुन्छ । पानीको यो कमी चुरेभावर र तराई तीनै ठाउँमा छन् । गर्मीयामको पानी सङ्कट हिउँदमा अलिक मत्थर मात्र हुन्छ । यसले मानिस पानीको पहुँचबाट टाढिँदै छ । खोलानालाका मूल र खोल्साखोल्सी, ठुल्ठुला पोखरी, इनार, डिप बोरिङबाट टयाङ्करमार्फत पानी उपलब्ध गराउन सकिन्छ तर यो जलसङ्कटको तत्कालको समाधान हो । यो दिगो, भरपर्दो र प्रभावकारी छैन ।पानीको चरित्र र शैली बदलिएको छ । यसको प्रयोगको परिमाण बढेको छ । इन्जिनियर अजय दीक्षितले भने झैँ पहिला पानीका स्रोत इनार, पैनी, कुला आदिका ठाउँमा चापाकल, नहर, बराज आदि आइसकेका छन् । लोटाले चल्ने जिन्दगी फ्लस ट्वाइलेट र बाथरुममा स्तरोन्नति भएको छ तर पानीको स्रोत बर्खा हुन छाडेको छ । यसपालि असार, साउन, भदौ र असोज अझ साउनको मध्यसम्ममा पानी परेन । माघे झरी देख्न पाइएन । वसन्तमा आकाश बर्सिएन । यस्तोमा गङ्गा मैदानमा जलसङ्कट अवश्यम्भावी नै थियो ।  

पानी सङ्कटका बहुआयामिक सन्दर्भ हुन सक्छन् तर पानीको अपर्याप्तता र अनुपलब्धताको चुरो निचोड एउटै छ । त्यो भनेको भूभौगर्भिक रूपमा कमजोर, धेरै पानी पर्ने, जलाधारको महìवपूर्ण क्षेत्र, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी, दुर्लभ वन्यजन्तुको बासस्थान र जैविक मार्ग भएको चुरेक्षेत्रको विनाश नै हो । विश्वव्यापी जलवायु परिवर्तनको असर पनि जलसङ्कटको अन्तर्यमा छ । थप केही मानवीय र प्राकृतिक कारण छँदै छन् । 

अवैध वन फँडानी र दोहन

प्राकृतिक रूपमा मानव बसोबासको थलो नरहेको चुरेक्षेत्रमा आधा शताब्दीयता अव्यवस्थित बस्ती विकास भएको छ । चुरेको घनाजङ्गल पातलिएको छ । चुरे वनबाट सयौँ वर्ष पुराना सालसतीसाल ढालिएका छन्, सखुवासँगै अन्य प्रजातिका रुखबिरुवा अवैध कटानमा परिरहेका छन् । खोरिया फँडानी र चरिचरण गरिँदै छ । बाटाघाटा, शिक्षालय, अस्पताल आदिका लागि पूर्वाधार विकसित भइरहेको छ । चुरे खोलानालाबाट ढुङ्गा, गिट्टी र बालुवाको अवैध दोहन भइरहेको छ । अर्थात् यहाँ अनुचित मानवीय क्रियाकलाप प्रोत्साहित भइरहेको छ । चुरे विनाश हुने जोखिम बढाउने थप नीतिगत र कानुनी व्यवस्था गर्नेतिर सरकारहरू लागिपरेका छन् । गाईवस्तुको खुरले पनि भासिने कमलो चुरे दोहनको चपेटामा परेका छन् यस क्षेत्रका बासिन्दा । पानी अभावसँगै चुरे नदीमा आउने बाढीबाट हुने कटान, पटान र भसान र वन्यजन्तुको कथित उपद्रोबाट जनतालाई प्रभावित बन्नु परेको छ । चुरेक्षेत्रका बासिन्दा यी समस्याबाट अछुतो छैनन् । 

सङ्कटापन्न जैविक विविधता

विज्ञहरू भन्छन्, चुरे विनाशबाट यस क्षेत्रको पारिस्थितिकीय प्रणालीमा र जैविक विविधतामा प्रतिकूल असर परेको छ । हो, पानीको मुख्यस्रोत चुरेभावर क्षतिग्रस्त हुँदा चुरे, भावर र तराईमा पानीको स्रोत सुकेका छन् । सुक्ने क्रम निरन्तर छ । खानेपानी र सिँचाइका लागि पानीको हाहाकार छ । नाङ्गिँदै÷भासिँदै गएको चुरेमा बर्खाको पानी सोस्न सकिरहेको छैन । चुरेको पानी सञ्चित गर्ने प्राकृतिक बनोट र प्रणाली  (बर्खाको पानी रुखबिरुवाको जरो हुँदै कसिलो नहुने ढुङ्गा, गिट्टी र बालुवामा सञ्चित हुने) मक्किएपछि पानी अड्दैन । बर्खाको पानीले चुरेका ढुङ्गा, गिट्टी र बालुवा अलिक बेरमै बगेर जान्छ । वर्षात् सकिएपछि बाँकी रहन्छ ढुङ्गा, गिट्टी र बालुवा थिग्रिएर दिनानुदिन चौडा हुँदै गएका खहरे खोला । पानी नसोसिएपछि चुरेक्षेत्रको पुनर्जलीयकरण हुँदैन । जसका कारण चुरेबाट पर्याप्त मात्रामा पानी दक्षिणतिर जलस्रोत बन्न पृथ्वीको तल्लो सतह भएर पुग्दैन । माथिल्लो सतहमा पनि पानी कम हुन जान्छ । माथिल्लो सतहको पानी त बढ्दो तापक्रमका कारण वाष्पीकरण भएर पनि जान्छ । चुरेबाट बेलगाम बगेर आउने ढुङ्गा, गिट्टी र बालुवाका कारण नदीको सतह दिनानुदिन बढ्दै छ । नदी र खेतको सतह समान भएको छ । कतिपय ठाउँमा खेतको सतहभन्दा नदी सतह अग्लिएको छ । बाढी आउँदा नदीबाट चुहिने वा पसारिने पानीले खेतीयोग्य जग्गा बलौटे बनाउँदै छ । नदीमा जहीँजता गहिरा खाल्टा खनेर जथाभावी ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन भइरहेको छ । यसले लाखौँ वर्षमा बनेका पानीको च्यानल भत्किरहेका छन् । अलिक राजस्व आउने लोभमा बन्न वर्षौं लाग्ने तर केहीबेरमै भत्किने पानीको च्यानल ध्वस्त पारेर मुट्ठीभर मानिस समृद्ध भइरहेका छन् । 

यस्तोे समृद्धिको मूल्य मधेशले काकाकुल भएर तिर्नु परिरहेको छ । इन्जिनियर अजय दीक्षितको शब्द पैँचो लिने हो भने किनारा, पिँध, ढुङ्गामाटा, बालुवा, कीटपतङ्ग, माछा आदिले नदीको इतिहास बन्छ । बगरसित लडीबुडी खेल्दै बगिरहने नदीलाई विकास, परिवर्तन र समृद्धिको अवधारणाले साँघुरो बनाएको छ । यसले पानी अभाव जस्ता दुष्परिणाम निम्तिन्छ नै । अपेक्षित समय र परिमाणमा पानी नपर्नु, तापक्रम र आद्रता बढ्नु, वनविनाश, भूउपयोगमा परिवर्तन, कङ्व्रिmट र अलकत्रा भएका सहरवृद्धि, पूर्वाधार विकासका नाममा सिमसार र पोखरी मासिनु जस्ता कारणले पनि पानी सङ्कट देखा परेको हो । जसलाई नदी सामग्रीको दोहनले थप बढाएको छ । 

बँदेल, नीलगाई, आदि वन्यजन्तुले बिघौँ जग्गामा लगाएको खेतीपाती क्षणभरमै नोक्सान गरिरहेका छन् । हुलका हुल बाँदरले गाउँखेतमा बालीनाली बाँकी रहन दिँदैनन् । स्थानीयवासीले यसलाई ‘आतङ्क’ को संज्ञा दिने गर्छन् । बाँदरको उपद्रो अन्त्य गराउन धनुषाको इच्छापुरका किसानहरू डिभिजन वन कार्यालय धनुषामा डेलिगेसन नै लिएर पुगे । उनीहरूको माग थियो, ‘वनका जन्तु वनमा फर्काउनू’ । डिभिजनल वन अधिकृत बेचन चौधरीले सोध्नुभयो, “यी जीवजन्तुलाई फर्काउने वन कहाँ छ ? वनभित्र पानी खाने ठाउँ छ र ? यिनी बस्ने ठाउँ त मानिसको कब्जामा छ, खाने फलफूल र जडीबुटीका ठाउँमा धान तरकारीको उब्जनी हुँदै छ । हैन र ?” किसानहरूले उत्तर फर्काउन सकेनन् ।  तथ्याङ्कले भन्छ, मधेश प्रदेशमा सबैभन्दा बढी चुरेवन मासिएको ठाउँ सिरहा हो । त्यहाँ नदीजन्य पदार्थको दोहन वा हरिया रुख काटी गोलिया काठ ओसार्ने नियन्त्रण अभियान तीव्र गरिँदा वन कार्यालय घेराउ हुन्छ । अझ स्थानीय सरकारको अगुवाइमा राजमार्ग अवरुद्ध हुन्छ । सिरहाका डिएफओ सुजितकुमार झा तस्करदेखि राजनीतिकर्मीका आँखाका कसिङ्गर बन्न पुग्छन् । चुरेविनाशले कतिपय ठाउँमा नदी सभ्यता दन्त्य कथा बनेको छ । धनुषामा बग्ने जलाइध नदीमा दुई हात्ती डुब्ने पानी बग्ने गरेको कुरा बगर मात्र देख्ने नयाँ पुस्तालाई पत्यार लाग्दैन । जङ्गहा नदी अङ्कुशीमा मिसिएपछि महोत्तरीको बलवा नगरपालिका र दक्षिणका बासिन्दाहरू पानीको सतह र भूमिगत स्रोत दुवै गुमाएका छन् । जङ्गहालाई मूलबाटोमा फर्काउने तीन दशकको प्रयास सफल हुन सकेको छैन र त्यसको सम्भावना न्यून छ । २०४६ सालयता जन्मिएकाहरूका लागि कुनै बेला गाउँ भएर जङ्गहा बग्ने अतीत उदेकलाग्दो बनेको छ । 

पानीको स्रोत संरक्षण

पानीको स्रोत संरक्षण र मधेशलाई मरुभूमीकरणबाट जोगाउन चुरे संरक्षण जरुरी छ । मानवविहीन चुरे कि मानवसहित चुरेको बहसको वैज्ञानिक तुक छैन तर यसको व्यावहारिक अर्थ छ । चुरेलाई बस्तीविहीन बनाउन कठिन छ तर निश्चित सर्तका साथ व्यवस्थित गर्न सकिन्छ । यसतर्फ सरकारहरूको ध्यान जान जरुरी छ । सरकारी तहबाटै चुरेमा बस्ती विस्तार गराउने काममा विराम लाग्नु पर्छ । चुरे अतिक्रमण व्यापक हुने भयले मधेश प्रदेश सरकारले वनक्षेत्रमा लालपुर्जा वितरण नगर्न सुकुमवासी समस्या समाधान आयोगलाई पत्राचार नै गर्नु परेको छ तर चुरे जङ्गल फँडानी गरी बाटोलगायत अन्य ठुल्ठुला पूर्वाधार बनाउने काम भने रोकिएका छैनन् ।  चुरे संरक्षण गर्न वृक्षरोपण, ड्याम निर्माण गरी पानीको संरक्षण, जलाधार संरक्षण, मानव बसोबासमा रोक, मानवबस्ती स्थानान्तरण, सतह सिँचाइको व्यवस्था आदि दीर्घकालीन उपाय र चेक ड्याम निर्माण, पानी सङ्कलनका लागी पोखरी निर्माण, नदी किनार संरक्षण, पानीको उचित प्रयोग र व्यवस्थापन, फोहोर पानीलाई सफा गरी पुनः प्रयोग आदि मध्यकालीन उपाय गर्नु पर्छ । महोत्तरीको रातु नदी प्रणालीमा पैरवी मञ्चले यस्ता काम गरेपछि चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई भन्ने अवस्था कायम भएको छ ।

यता खानेपानी परिपूर्तिका लागि ओभरहेड ट्याङ्क र वितरण प्रणाली निर्माण, डिप ट्युबेलको निर्माण, निर्माण भएका तर पानी न आउने डिप ट्युबेलमा सबमरसिबल पम्प जडान गरी पानी तान्ने व्यवस्था, तालिका बनाई पालिकाहरूमा पानी तान्ने कार्य गर्नुपर्ने, स्यालो ट्युबेल निर्माण, रेन वाटर हारभेस्टिङको व्यवस्था, ट्याङ्करबाट पानीको आपूर्ति गर्ने व्यवस्था आदि गर्नुपर्ने हुन्छ । यो भने तात्कालिक उपाय हो ।

मन्त्रीपरिषद्ले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृत गरिसकेको छ । विधेयकमा चुरेबाट गिट्टी, बालुवा, उत्खनन नहुने प्रस्तावना छ । राष्ट्रिय निकुन्ज, वनक्षेत्र, संरक्षित जलाधार क्षेत्र, ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन निषेधित क्षेत्र, भावर र महाभारत क्षेत्रबाट उत्खनन र निकासीको सम्भावना, खोलालाई तीन भागमा बाँडी बिचको भागबाट मात्र भावरक्षेत्रमा एक मिटर गहिरो उत्खनन गर्ने विषय आदि विधेयकको सकारात्मक पक्ष हो । सोही विधेयकमा राष्ट्रिय सुरक्षा वा आन्तरिक माग व्यवस्थापन गर्न वा वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने देखिएमा सरकारले निश्चित अवधि तोकी वा नतोकी कुनै निर्माणमुखी सामग्रीको निकासीमा रोक वा परिमाणात्मक बन्देज लगाउने गरी आदेश जारी गर्न सक्ने छ भन्ने प्रावधान छ । यो प्रावधानले नदीजन्य पदार्थको उत्खननमा सरकारको विवेक प्रयोग गर्न सकिने बाटो प्रशस्त गरेको छ । यो प्रावधानको दुरुपयोग हुन सक्ने सम्भावना रहन्छ ।  धानखेत बगर र खाल्टामा परिणत हुने गरी भावरक्षेत्रका खोला जथाभावी १० मिटर गहिरोसम्म उत्खनन भइरहेका छन् । यसलाई रोक्न ठोस पहल भएका छैनन् । विभिन्न संयन्त्र र संस्थाको संलग्नतामा नदीजन्य पदार्थको अवैध दोहन भइरहेको अहिलेको अवस्थामा यसले सामाजिक अपराधको अन्त्यहीन शृङ्खला सुरु हुन सक्छ । नदी दोहन रोक्न खोज्दा दिलीप महतो मारिनु र यससम्बन्धी समाचार बनाउन खोज्दा सञ्चारकर्मीहरू तर्साइनु/तिनै शृङ्खलाको पूर्वकडी हो । चुरे दोहनसँग जोडिएको ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खननबाट प्राप्त हुने राजस्वको तुलनामा चुरेक्षेत्रको वातावरणीय सन्तुलन, व्यवस्थापन र वातावरणीय पुनस्र्थापना प्रयासमा हुने खर्च अत्यधिक छ । यस्तोमा राज्य सुपथगामी हुनु पर्छ ।  

‘चुरे संरक्षणमा जुट्नु पर्छ’ 



मनोजकुमार साह

प्रमुख, जनकपुरधाम उपमहानगरपालिका 

गर्मीयाममा जनकपुरधामका धेरै वटा चापाकल सुके । अहिले पालिकाका तीन ठाउँमा डिप बोरिङ गरी पानी आपूर्ति गर्ने कार्ययोजनालाई स्वीकृत गरिएको छ । ४५० फिटबाट पानी निकाल्ने गरी ४० लाख रुपियाँको चापाकल जडान गर्ने टेन्डर भएको छ । सडक निर्माणका क्रममा अवरुद्ध खानेपानी आपूर्ति प्रणाली ठाउँठाउँमा पाइप फेर्न लगाएर सुचारु गरिएको छ । 

मैले पानीको खोजीमा महोत्तरी र धनुषाका धेरै वटा नदी प्रणालीमा विज्ञसहित पुगेँ । अहिले औरही र जलाइध नदी प्रणालीमा संरक्षण तथा व्यवस्थापनका कार्य गरेर पानी सञ्चित गरी पाइपलाइन मार्फत जनकपुरधामसम्म ल्याउन स्रोत पहिचान र सुनिश्चितता, स्थानीय समुदाय र विभिन्न पालिकासँग समन्वय आदि काममा छु । त्यसमा विद्यमान कानुनी जटिलता हटाउने विमर्शमा छु । कमला नदीबाटै पानी ल्याउने गरी सङ्घीय सरकारको आयोजनाका लागि डिपिआरतर्फ पनि लागेको छु । पानी समस्याको समाधान चुरे र नदी प्रणालीको संरक्षण नै हो । यसका लागि हामी जुट्नु पर्छ ।        

Author

अनिलकुमार कर्ण