• १४ मंसिर २०८१, शुक्रबार

तीन वर्षपछि निर्माण हुँदै अस्पताल

blog

लीलाधर वली

घोराही, फागुन ११ गते । घोराही उपमहानगरपालिका–४ को भकारेमा शिलान्यास भएर लामो समय अलपत्र परेको ‘लक्ष्मीपुर अस्पताल’ निर्माणको काम अघि बढेको छ । दुई वर्षभित्र निर्माण सक्ने गरी २०७७ साल मङ्सिर १३ गते शिलान्यास भएको १५ शøयाको ‘लक्ष्मीपुर अस्पताल’ तीन वर्षपछि निर्माणको काम अघि बढेको हो । 

अहिले अस्पताल निर्माणको काम भइरहेको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसूदन घिमिरेले बताउनुभयो। शिलान्यास भए पनि लामो समयसम्म निर्माण रोकिएको अस्पतालको काम अहिले धमाधम भइरहेको बताउनुभयो। वडाध्यक्ष घिमिरेले भन्नुभयो, “लामो समय अलपत्र परेको अस्पतालको काम ढिलै भए पनि अहिले भइरहेको छ ।” लक्ष्मीपुर अस्पताल निर्माणका लागि शिलान्यास भएको करिब आठ महिनापछि २०७८ साल असार २८ गते राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको थियो । 

घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेल सम्झौता अनुसार गत वर्षको असारमा सकिनुपर्ने भए पनि अस्पतालको डिजाइन मन्त्रालयबाट स्वीकृतमा ढिलाइ हुँदा अहिले काम सुरु भएको बताउनुहुन्छ । पौडेलका अनुसार अस्पताल भवन निर्माणका लागि आगामी असार महिनासम्म म्याद थप गरिएको छ । 

सङ्घीय सरकारको बजेटमा घोराही उपमहानगरपालिकाले प्राविधिक सहयोगमा अस्पतालको भवन निर्माणको काम भइरहेको छ । करिब १० करोड ६६ लाख चार हजार ९०१ रुपियाँमा भवन निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । अस्पताल निर्माण भएपछि घोराही उपमहानगरपालिका–४, ३, २ र १ नं. का नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।  लक्ष्मीपुर अस्पतालको भवन निर्माणको काम अघि बढे पनि घोराही उपमहानगरपालिका–१० को ‘नारायणपुर सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ को भवन निर्माणको काम भने अझै सुरु हुन सकेको छैन । सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको भवन निर्माणका लागि २०७८ साल माघमा रोयल बिल्डर्स प्रालिसँग घोराही उपमहानगरपालिकाको सम्झौता भएको थियो । २०७९ साल असार ३० गतेसम्म सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको भवन निर्माण गरिसक्नुपर्ने भए पनि अहिलेसम्म काम नभएको महाशाखा प्रमुख पौडेलले बताउनुभएको छ । निर्माण व्यवसायीलाई पेनाल्टी जरिबाना गरेर भवन निर्माणको काम गर्न दिने सहमति भए पनि निर्माण व्यवसायीले ढिलाइ गरेको उहाँ बताउनुहुन्छ । 

महाशाखा प्रमुख पौडेलले भन्नुभयो, “सम्झौता अनुसार काम सुरु भएको भए एक वर्षअघि नै भवन निर्माण भइसक्थ्यो । त्यो बेला आर्थिक समस्या थिएन। अहिले भवन निर्माणका लागि बजेटको समेत समस्या छ ।” एक करोडभन्दा बढीको योजना भए पनि अहिले २० लाख रुपियाँ मात्र बजेट भएको महाशाखा प्रमुख पौडेलले बताउनुभयो ।  

भवन निर्माण नहुँदा  सहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट बिरामीलाई सेवा दिन समस्या भइरहेको केन्द्रका प्रमुख डा. डिल्लीराज आचार्य बताउनुहुन्छ। सहरी क्षेत्रमा भएकाले धेरै बिरामी आउने भए पनि भवन अभावका कारण साँघुरो र पुरानो भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेको प्रमुख आचार्यले बताउनुभयो । प्रमुख आचार्यले भन्नुभयो, “सहरी प्रवर्धन केन्द्रको भवन निर्माणमा ढिलाइ हुँदा बिरामीलाई सेवा दिनसँगै प्रशासनिक काम गर्न समस्या भइरहेको छ ।”