• १ वैशाख २०८१, शनिबार

अबको समाजवादी क्रान्ति

blog

समाजवादमा जान क्रान्तिका दुई चरण पहिलो पुँजीवादी र दोस्रो समाजवादी क्रान्ति पार गर्दै अगाडि बढ्नु पर्छ । विश्व समाजवादी आन्दोलनमा क्रान्तिका आआफ्नै अनुभव छन् । चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको एकल नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भयो र समाजवाद स्थापनाको आधार निर्माण भएर चीन अगाडि बढिरहेको छ । रुसमा जारशाहीविरुद्ध भएको फरबरी क्रान्तिपछि लेनिनको अगुवाइमा भएको अक्टोबर क्रान्तिको सफलताले समाजवाद स्थापना ग¥यो । यस्तै भियतनाम, क्युबामा भएका क्रान्तिका आ–आफ्नै अनुभव छन् ।

नेपालमा ७० वर्ष लामो सामन्तवादविरोधी राजनीतिक आन्दोलनको उत्कर्ष स्वरूप २०६२/६३ मा आइपुग्दा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भयो । यस अर्थमा रुसमा भएको फरबरी क्रान्ति झैँ नेपालमा पुँजीवादी जनवादी राजनीतिक क्रान्ति सम्पन्न भएको छ तर यो पुँजीवादी राजनीतिक क्रान्तिले नै समाजवाद स्थापना हुँदैन । समाजवाद स्थापना गर्न समाजवादी क्रान्ति गर्नु अपरिहार्य छ । यो समाजवादी क्रान्ति कम्युनिस्ट पार्टीको अगुवाइमा समाजवादी कार्यक्रम अवलम्बन गरेका राजनीतिक शक्ति, वर्ग र समुदायको समेत सहयोगमा मात्रै सम्भव हुन्छ ।

उत्पादनका साधनहरूमा सामाजिक स्वामित्व नै समाजवादी प्रणालीको आर्थिक–सामाजिक आधार हो । अनि श्रमजीवी वर्गको नेतृत्वमा जनताको सत्ता यसको राजनीतिक आधार हो । माक्र्सवादी/लेनिनवादी सिद्धान्तले समाजवादी प्रणालीको वैचारिक आधारको काम गर्दछ । समाजवादी क्रान्तिले व्यक्तिगत सम्पत्तिलाई सामाजिक सम्पत्तिमा रूपान्तरण गर्दछ । यस्तै सबै प्रकारका शोषण र उत्पीडनलाई उन्मूलन गर्दछ । नयाँ समाजवादी अर्थतन्त्रको निर्माण गर्दै सामाजिक सम्बन्धहरूलाई रूपान्तरण गरी सांस्कृतिक क्रान्ति सञ्चालन गरेर नयाँ समाज निर्माण हुने छ ।

समाजवादी क्रान्ति नै किन भन्ने सवाल उठ्छ । यसअघि भएका सबै क्रान्तिले शोषणको अन्त्य गर्ने उद्देश्य राखेका थिएनन् । तिनले शोषणको रूपसम्म बदल्ने गरेका थिए । समाजवादी क्रान्तिले भने सदाका लागि नै सबै प्रकारका शोषणको उन्मूलन गर्दछ र वर्गरहित समाजको निर्माण गर्न सुरु गर्दछ ।

यस्तै यसअघि भएका क्रान्तिले नयाँ अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य पूरा गर्न सकेका थिएनन् । ती क्रान्तिले पुरानो समाजको गर्भभित्र उत्पन्न भएका नयाँ आर्थिक सम्बन्धहरू अनुरूप राजनीतिक सत्ता मात्रै कायम गरे । समाजवादी क्रान्तिको एउटा मुख्य लक्ष्य चाहिँ नयाँ अर्थतन्त्र अर्थात् समाजवादी अर्थतन्त्र निर्माण गर्नु हो । समाजवादी क्रान्तिले जस्तो अरू कुनै पनि क्रान्तिले जनसमुदायको व्यापक सक्रियताको अभिव्यक्ति गर्दैन । समाजवादी क्रान्तिमा श्रमजीवी सर्वहारा वर्गले पुँजीवादविरुद्ध समाजवादको निमित्त व्यापक श्रमिक समुदायहरू र लोकतान्त्रिक शक्तिहरूलाई आफ्नो वरिपरि एकजुट पार्दछ ।

नेपालको वाम आन्दोलन यतिबेला विभाजित अवस्थामा छ । कम्युनिस्ट पार्टीहरूको रणनीतिक लक्ष्य एउटै भए पनि कार्यनीतिक मतभिन्नताले गर्दा कम्युनिस्ट पार्टीहरू ससाना समूहमा विभक्त भएका छन् । पुँजीवादी क्रान्ति सम्पन्न भएपछि नेपालका वामपन्थीहरू अझैसम्म अलमलमा छन् । क्रान्ति रिले खेलको दौड जस्तै हो । रिले दौडको खेलमा एक खेलाडीले आफ्नो टिमको अर्काे खेलाडीलाई छिटोभन्दा छिटो डन्डी पास गरेन भने टिमले खेलमा विजय हासिल गर्दैन । यस्तै समाजवादी क्रान्ति गर्ने कार्यक्रमका साथ वामपन्थीहरूले भूमिका निर्वाह नगरेमा समाजवादी क्रान्ति झन् पछाडि पर्दछ । क्रान्तिको नियम पनि रिले खेलको दौड जस्तै हो । २०६२/६३ मा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो तर यसले त नेपाली व्रmान्ति पूरा भएको छैन । समाजवादी क्रान्ति गरेर समाजवाद स्थापनातर्फ मुलुकलाई अगाडि बढाउँदा मात्रै क्रान्तिको कोर्ष पूरा हुन्छ । अहिलेसम्म यथास्थितिमै मुलुक रहिरहेको छ तर नेपालका वामपन्थी पार्टीले पुँजीवादी क्रान्ति भएको १८ वर्षमा समाजवादी क्रान्ति गर्ने कार्यक्रमसमेत अगाडि सार्न सकेका छैनन् । सामन्तवादविरोधी जनवादी कार्यक्रम वा पुँजीवादी क्रान्तिको कार्यक्रमबाट समाजवादी क्रान्ति हुँदैन र यसबाट समाजवादमा जान पनि सकिन्न ।

वामपन्थीहरूले समाजवादी आर्थिक–सामाजिक कार्यक्रम अगाडि नसार्दा देश कठिन अवस्थाबाट गुज्रँदै छ । देशमा रोजगारीका अवसर नहुँदा झन्डै ७०/८० लाख मानिस विदेशमा रोजगारीका लागि भौँतारिन बाध्य छन् । १२ कक्षा उत्तीर्ण गर्नेबित्तिकै विदेश पढ्न जान युवाको ताँती लाग्ने गरेको छ । उच्च शिक्षा पढाउने गाउँघरदेखि सहरबजारका कलेज विद्यार्थीविहीन हुँदै गएका छन् । देशभित्र उत्पादन भएको जनशक्तिले रोजगारी नपाउँदा डाक्टर, नर्स, इन्जिनियर, कृषि प्राविधिकहरू बिदेसिएका छन् । 

कृषि क्रान्ति र औद्योगिकीकरण गरेर व्यापक उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा नवउदारवादी पुँजीवादी आर्थिक–सामाजिक नीतिले देश झन् झन् परनिर्भर बन्दै गएको छ । नवउदारवादले उत्पादन, रोजगारी विस्तारभन्दा पनि व्यापार, व्यवसाय गरेर पैसा कमाउनेतर्फ प्रोत्साहन गरेकाले देशको अर्थतन्त्र कमजोर बनेको छ । अनियमितता र भ्रष्टाचारले भयावह रूप लिएको छ तर वामपन्थीहरूले सरकारमा गएर पनि नवउदारवादी आर्थिक नीतिको वैकल्पिक समाजवादी आर्थिक नीति प्रस्तुत गर्न सकेका छैनन् । 

नेपालका वामपन्थी दलहरूले सुस्पष्ट समाजवादी क्रान्तिको आर्थिक–सामाजिक कार्यक्रमसहित समाजवादको दिशामा अगाडि बढ्न ध्यान नदिएर केवल सत्ता अनि चुनावदेखि चुनावकै गोलचक्करमा हिँडिरहेमा र यथास्थितिमै रमाइरहेमा देश र जनताको अवस्था झन् दुरुह बन्ने छ । त्यसैले समाजवादी क्रान्तिको अगुवाइ गर्ने पार्टीलाई अब नयाँ ढङ्गको कम्युनिस्ट पार्टीका रूपमा निर्माण र सञ्चालन गरिनु पर्छ । संसदीय पेरीफेरीभन्दा माथि उठेर समाजवादी क्रान्ति सम्पन्न गर्न सिद्धान्त, विचार, सङ्गठन, नेतृत्व, सङ्घर्ष, कार्यशैली र जीवनशैलीको हिसाबले नयाँ ढङ्गको पार्टीका रूपमा विकास गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

माक्र्सवादी विचारबाट लैस भएको पार्टी, नेता तथा कार्यकर्ताको अभावमा कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी पार्टीका रूपमा विकास र रूपान्तरण गर्न सकिन्न । राष्ट्रियता, रोजगारी, जनजीविका, किसान, श्रमिकका समस्या, मिटरब्याजी, महिला हिंसा, जातीय विभेद र अनियमितता भ्रष्टाचारका विरुद्धमा सशक्त आन्दोलन हुन सकिरहेको छैन । कम्युनिस्ट पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्न लेनिनवादी सिद्धान्त र पद्धतिलाई दृढतापूर्वक आत्मसात् गरेर व्यवहारमा लागु गर्नुपर्ने खाँचो छ । पार्टीभित्र एक जना, दुई जनाबाट निर्णय हुने, सामूहिक छलफल नगर्ने, कमिटी पद्धतिलाई व्यवहारमा लागु गरेर व्यक्तिवादी र स्वेच्छाचारी प्रवृत्तिलाई अन्त्य गर्ने दृढताका साथ अगाडि बढाउनु पर्दछ । पार्टीभित्र जनवादी अभ्यास गर्न पाउने गरी सङ्गठन संरचना निर्माण गर्ने, पार्टी काम र संसदीय मोर्चाको काममा सन्तुलित ढङ्गबाट नेतृत्वको विन्यास, एकै व्यक्ति पार्टीको पनि नेतृत्वमा रहने अनि राजकीय क्षेत्रको पनि नेतृत्व गर्ने विगतका अभ्यासले व्यक्तिवाद र सर्वसत्तावाद हाबी भयो । यसले गर्दा नियन्त्रण र शक्ति सन्तुलनको अभ्यासमा पनि गम्भीर असर पुग्यो । 

पार्टीभित्र वैचारिक सैद्धान्तिक सुस्पष्टता र कार्यसम्पादनमा आधारित मूल्याङ्कन पद्धति र यसैका आधारमा नेतृत्व छनोट गर्ने, योग्यता क्षमताका आधारमा व्यक्तिलाई सामूहिक निर्णयबाट जिम्मेवारी प्रदान गर्ने, पार्टी कार्यकर्तामा क्रान्तिकारी आशा जगाउने ढङ्गले क्रान्तिकारी नीति अवलम्बन गर्नु कार्यसम्पादन प्रणालीको आजको आवश्यकता छ । यस्तै अब पार्टीका नेता र कायकर्ताको जीवनशैलीलाई जनताको जीवनसँग जोडिने गरी सर्वहारावादी जीवनशैली अवलम्बन गर्ने र सुशासन कायम गर्ने या नीति र पद्धतिका साथ पार्टी सञ्चालन गर्ने नीतिले निश्चित रूपमा नयाँ ढङ्गबाट पार्टी निर्माण र सञ्चालनको आधार तयार हुने छ ।

नेतृत्वको विकास र हस्तान्तरणको विषय पनि यतिबेला गम्भीर महìवका साथ कम्युनिस्ट आन्दोलनमा उठिरहेको छ । एकै व्यक्तिले दशकौँदेखि पार्टीको नेतृत्व गर्ने जुन परिपाटी छ, यसले त्यति सकारात्मक सन्देश दिन सकेको छैन । तसर्थ अब दोस्रो पुस्ताबाट नेतृत्व गर्ने वैचारिक, साङ्गठनिक आधार निर्माण गरेर कार्यकारी र साङ्गठनिक नेतृत्व गर्न तत्परता देखाउँदा मात्रै नयाँ पुस्ताले क्रान्तिको अभिभारा र चुनौती पूरा गर्न आँट देखाउन सक्ने छ । यसै गरी अनुभवी पहिलो पुस्ताको अनुभव र योगदानलाई पार्टीले सम्पत्तिका रूपमा ग्रहण गरेर वैचारिक निर्देशन प्राप्त गरिरहने गरी पार्टी कमिटीभित्रै निर्देशक समिति वा स्टेरिङ कमिटी जस्तो संयन्त्र निर्माण गर्दा नै पार्टी झन् गतिशील हुने छ । दोस्रो पुस्तामा नेतृत्वको हस्तान्तरणले वामपन्थीहरूबिच विचार र नेतृत्वका आधारमा एकताको पनि नयाँ आधार सिर्जना हुने छ र यसले वामआन्दोलनमा एउटा नयाँ उत्साह र हलचल ल्याउने छ ।

समाजवादी क्रान्ति गरेर समाजवाद निर्माण गर्ने कार्य असाध्यै चुनौतीपूर्ण विषय हो । वामपन्थीबिच सहकार्य र एकता अहिलेको आवश्यकता हो । झन्डै दुई तिहाइको जनमत प्राप्त गरेका वामपन्थीहरू एकताबद्ध हुँदा मात्र संसदीय मोर्चामा श्रेष्ठता हासिल गर्न सकिन्छ । तत्काल एकता नहुँदा पनि वामपन्थीहरू एवं समाजवादीबिच सहकार्य गर्न समाजवादी मोर्चालाई विकास र विस्तार गर्न सकिन्छ । साथै सिद्धान्त, विचार र कार्यक्रममा समानताका आधारमा एकता गरेर आगामी संसदीय निर्वाचनलाई वामपन्थीको वर्चस्व कायम गर्ने नीतिका साथ भूमिका निर्वाह गर्न सके वर्तमान पुँजीवादी व्यवस्थाभित्रबाट पनि समाजवादी क्रान्तिका लागि आमूल सुधार र परिवर्तन गर्न सकिन्छ । यस्तै अब कम्युनिस्ट पार्टीले राज्य सञ्चालन गर्दा जनताको जीवनस्तर माथि उठाउने गरी समाजवादी आर्थिक–सामाजिक नीति तय गरेर लागु गर्नुपर्ने खाँचो छ । सरकारमा गएर दलाल पुँजीवादलाई परास्त गर्ने नीतिसँगै राष्ट्रिय पुँजी निर्माण गरेर स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सुस्पष्ट नीति तथा कार्यक्रम पनि आवश्यक छ ।

   

Author

प्रेमलकुमार खनाल