• १९ असार २०८१, बुधबार

कांग्रेस महासमिति बैठक : वर्तमान गठबन्धन चार वर्ष नै रहने प्रस्ताव पारित

blog

गोदावरी (ललितपुर), फागुन १० गते । नेपाली कांग्रेसको फागुन ७ गतेदेखि जारी महासमिति बैठकले वर्तमान गठबन्धन चार वर्ष नै रहने निष्कर्ष निकालेको छ । 

बैठकपछि ११ वटा निष्कर्ष सार्वजनिक गर्दै कांग्रेसले तीनै तहका सरकार संचालनमा देखिएका समस्यालाई समाधानका लागि नेतृत्वदायी भूमिका खेल्ने जनाएको छ । 

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गरेको प्रस्तावमा वर्तमान गठबन्धन चार वर्ष नै कायम रहने उल्लेख रहेको र सो प्रस्ताव महासमिति बैठकबाट पारित भएको जानकारी दिनुभयो । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सो प्रस्ताव पारित गरेको हो । 

पार्टीका प्रचार प्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले जारी गर्नुभएको विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालीन न्यायका विषय चाँडै टुङ्याउने प्रतिबद्धता जाहेर गरिएको छ । 

अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतिलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै कांग्रेसले किसान, सहकारी बचतकर्ता, मिटरव्याज र लघुबित्त पीडितहरुले भोग्दै आएका पीडालाई अभिलम्व समाधान गरी पीडितलाई न्याय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । 

पार्टीको निष्कर्षमा उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएका सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक प्रस्ताव नेपाली कांग्रेसको नीति, सांगठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्किोण निर्माण गरेको उल्लेख छ । 

बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यवाट प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जनसहित अन्तिम रुप दिने गरी तीनवटै प्रस्ताव महासमितिको बैठकले सर्वसम्मतिले पारित गरेको छ । 

साथै नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थ मन्त्री डा. प्रकाशसरण महतले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझावसहित ग्रहण गर्नुका साथै लेखा समितिका संयोजक श्यामप्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको लेखा परिक्षण प्रतिवेदन वैठकले अनुमोदन गरेको छ । 


यो पनि पढ्नुहोस

दाग लागेको मन्त्रीलाई घर पठाऔँ : कांग्रेस महामन्त्री थापा

महासमितिमा उठेका सुझावहरू प्रस्तुत गर्दै प्रदेश सभापति