• २२ असार २०८१, शनिबार

दाग लागेको मन्त्रीलाई घर पठाऔँ : कांग्रेस महामन्त्री थापा

blog

नेपाली काँग्रेसका महामन्त्री गगन थापा । फाइल तस्बिर

काठमाडौं, फागुन १० गते। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्तालाई पार्टीको वरिपरि राख्नु नहुने र दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताउनुभएको छ।

बिहीबार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका काँग्रेसका नेता, कार्यकर्तालाई पार्टीको वरिपरि राख्नु नहुने बताउनुभएको हो। उहाँले दाग लागेका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताउनु भयो। उहाँले काम गर्न नसक्ने मन्त्रीहरूलाई विश्राम दिनुपर्ने पनि बताउनुभयो। 

महामन्त्री थापाले काम गर्न नसक्ने वडाध्यक्षलाई १० वर्ष घर बसाउनुपर्ने पनि बताउनुभयो। उहाँले यसो गर्न सकेमा काँग्रेसको शक्ति बढ्ने बताउनुभयो। उहाँले ०४६ साल पछाडि सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानबिन गर्नुपर्ने पनि बताउनुभयो। आफूमा लागेको दाग मेटाएर पार्टीलाई बलियो बनाउन सकेमा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेलाई कारबाही गर्न सकिने उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, ‘‘हामी अहिले सरकारमा छौँ। सरकारमा भएर यसरी राम्रोसँग काम गरौँ। जसको कारणले गर्दा अर्को सरकारको बारेमा चिन्ता गर्नु नपरोस्। आम नागरिकहरू आज सरकारसँग सुशासन र डेलिभरीको कुरा खोजिरहेका छन्। भ्रष्टाचारी एउटा पनि नउम्कियोस्। ठुलो माछाहरू समातियोस्। यसको निम्ति कानुन बनोस्। बनेको कानुन बदल्नुपर्छ भने बदलियोस्। कांग्रेसको पहलमा हामीले कानुन बनाउने केही पहलकदमीहरू लिएका छौँ। ०४६ साल पछाडि प्रत्येक सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानबिन होस् भन्ने कानुन नेपाली काँग्रेसको पहलकदमीमा यहीँ संसदबाट बनाएर सुशासनको सन्दर्भमा हामीले देखाउनुपर्ने छ। कतिपय ठाउँमा दाग लागेको छ। दाग पुछ्नका लागि ऐन पुछेर हुँदैन। दाग हामी आफैँले मेटाउनुपर्छ। हाम्रो घरलाई ठिक बनाइसकेपछि अनि बलियोसँग उभिएको काँग्रेसले नेताको नाममा सहकारी ठग्नेहरूलाई ठिक ठाउँमा लिएर आउँछ। जग्गा किर्ते गर्नेहरूलाई ठिक ठाउँमा ल्याउँछ। नागरिकता किर्ते गर्नेहरूलाई ठिक ठाउँमा ल्याउँछ। डेलिभरी गर्ने हाम्रो काम हो। जिम्मामा भएका हाम्रा सांसद मन्त्रीहरूले हिसाब किताब दिन सक्नुपर्छ। प्रत्येकले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्छ। हाम्रो कामबाट नागरिक खुसी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ। काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऊँ। दाग लागेको मन्त्रीलाई घर पठाऔँ। अनि काम गरेर देखाऔँ काँग्रेसले। काम गर्न नसक्ने वडा अध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भनेर भन्न सक्नुपर्छ। भ्रष्टाचारमा मुछिएका एउटा मान्छेलाई कांगेसले वरिपरि राख्दिनँ भनेर भन्न सक्नुपर्छ। त्यसपछि हाम्रो शक्ति आफैँ बढ्दै जान्छ।’’

उहाँले कांग्रेस सरकारमा रहेकाले जनतालाई सुशासन र डेलिभरी दिन सक्नुपर्ने बताउनुभयो।