• २२ असार २०८१, शनिबार

संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छ : उपसभापति खड्का

blog

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का ललितपुरको गोदाबरीमा पार्टीको महासमिति बैठकको समापनमा समारोहलाई सम्बोधन गर्नुहुँदै ।

काठमाडौँ, फागुन १० गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने धारणा राख्नुभएको छ ।

ललितपुरको गोदाबरीमा पार्टीको महासमिति बैठकको समापनमा समारोहमा उहाँले कांग्रेसले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संविधान जारी गरेको स्मरण गर्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने समय आएको बताउनुभयो ।

संविधान जारी गर्ने बेला विभिन्न राजनीतिक दलहरूसँग गरेको प्रतिबद्धता बमोजिम संविधानलाई समयानुसार परिवर्तनशील दस्तावेजकारुपमा ग्रहण गरी  संविधान संशोधनको नेतृत्व गर्नुपर्ने उहाँको भनाइ थियो । 

“संविधान जारी गर्ने बेला सर्वसम्मति हुन नसकेको सत्य हो । संविधानमा सबैका सबै कुरा समेटिएका छैनन् । कतिपय क्षेत्र, वर्ग र समुदायका अधिकारका विषय छुटेका पनि छन्, कतिपय असन्तुष्टिहरू छन्”, उहाँले भन्नुभयो, “संविधान जारी भइ कार्यान्वयनमा आएको आठ वर्ष बितेको छ । अब संविधान कार्यान्वयनका समीक्षा गर्दै आवश्यक संशोधनका लागि कांग्रेसले वातावरण बनाउनु आवश्यक छ ।” उहाँले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउन पहल लिनुपर्नेमा जोड दिनुभयो । 

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहनुभएका खड्काले कांग्रेसका तर्फबाट वर्तमान मन्त्रिमण्डलमा सहभागी नौ मन्त्रीले पार्टीले शीर झुकाउनु पर्ने गलत काम नगरेको उल्लेख गर्नुभयो । कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरिरहेका उहाँले सरकारमा रहेका नेताहरूले जनतालाई सेवा गरिरहेको बताउनुभयो । 

“सभापतिज्यूले मलाई विश्वास गरेर मेरो नेतृत्वमा नौ जना साथीलाई सरकारमा पठाउनुभएको छ, आजका दिनसम्म हामीले जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “म गर्वका साथ भन्नसक्छु हामीले जनता र पार्टीको शिर झुकाउनुपर्ने खालका कुनै पनि काम गरेका छैनौँ ।”

वर्तमान सरकार सुशासन स्थापनाका लागि प्रयासरत रहेको भन्दै महासमिति बैठकमा मन्त्रीबारे प्राप्त टिप्पणी र सुझावलाई ध्यानमा राखेर अगाडि बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।