• २२ असार २०८१, शनिबार

महासमिति बैठकले कांग्रेसप्रति आकर्षण बढाउने काम गरोस् : कांग्रेस नेता

blog

ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महसमिति बैठक ।

ललितपुर, फागुन १० गते । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको चौथो दिन विभिन्न पाँचवटा प्रतिवेदमाथि समूहगत रूपमा छलफल भइरहेको छ ।

छलफलमा भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्णरुपमा गठबन्धन केन्द्रित भएको बताउनुभयो । उहाँले गठबन्धन हुनु या नहुनुले के फरक पर्छ भन्दै प्रश्न गर्नु भयो । अहिले उहाँले आफू गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको बताउँदै पाँच वर्ष गठबन्धन हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नैतिकताको आधारमा राजीनामा दिएपछिमात्र गठबन्धन छोड्छु । पाँच वर्ष गठबन्धन गर्नुपर्छ । पार्टी पूर्णरुपमा सभापतिय प्रणालीमा जानुपर्छ । पदाधिकारी कति छन् गन्न पनि सक्दिन । जति पदाधिकारी भए पनि केही हुने रहेनछ । दुईजना महामन्त्री भए पनि केही हुने रहेनछ । यो महासमिति बैठकले कांग्रेसले कांग्रेसलाईमात्र भोट हाल्ने वातावरण बनाओस् ।’’

यसैगरी, महासमिति सदस्य गोपाल विश्वकर्माले गठबन्धन नगर्ने विषय केन्द्रीय समितिबाट अनुमोदन गराउन आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘‘गठबन्धन नगर्ने कुरा केन्द्रीय समितिबाट अनुमोदन गराउनुस् । गौतम बुद्ध जन्मेको देशमा हिन्दु राष्ट्र अभियान चलाउने कि नचलाउने केन्द्रीय समितिबाट निर्णय गराएर आउनुस् ।’’

उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीको घोषणापत्र कार्यान्वयन गराउन ध्यानाकर्षण पनि गराउनु भयो । ‘‘पार्टीले घोषणा गरेको घोषणापत्र किन कार्यान्वयन भएन सभापति ज्यू ? पार्टी पदाधिकारी, मन्त्री र केन्द्रीय सदस्य सबैले जिम्मा लिनुपर्छ,’’ उहाँले भन्नु भयो, ‘‘यदि यो कार्यान्वयन भएको भए व्यवस्था विरोधी आन्दोलन हुने नै थिएन ।’’

महासमिति सदस्य भीमसेनदास प्रधानले तल्लो तहमा छलफल गरेर महासमिति बैठक गर्ने वातावरण आगामी बैठकहरूमा मिलाउन आग्रह गर्नुभयो ।

स्याङ्जाका महासमिति सदस्य युवराज पाण्डेले समस्या पहिचान गरेर मात्र नछोड्न आग्रह गर्नु भयो । उहाँले समस्या समाधानको उपाय खोज्न पनि नेतृत्वलाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘‘समस्याको पहिचान गरेर हामीले छुट पाउँदैनौ समाधान पनि गर्नपर्छ । सरकारमा उपप्रधानमन्त्री हुनुहुछ ? केके गर्ने केके गरियो खाका खोइ ? हामी कहाँ पुग्ने दशपछि योजना खोइ ? हामी पछि पर्नुको कारण गठबन्धन हो । मेरो ठाउँमा मैले सङ्गठन गर्ने चुनाव लड्न नपाउने ? एक्जिक्ट पोसिली हुनैपर्छ ।’’

काठमाडौँका महासमिति सदस्य गीता दवाडीले गठबन्धनका कारण कांग्रेसीले कांग्रेसकै उम्मेदवारलाई भोट हाल्न नपाएको भन्दै गुनासो गर्नु भयो । ‘‘हामीले गठबन्धन बनाएर अरू पार्टीलाई भोट हाल्न पर्‍यो । हाम्रा सन्तानले तपाईँहरूले अरू पार्टीलाई भोट हाल्न नपर्ने बनाएर आउनु भनेर पठाउनुभएको छ,’’ उहाँले भन्नु भयो, ‘‘७७ जिल्लामा एक जना महिला सभापति खोइ ? हामी महिला पुरुषहरूले जे भन्यो त्यसमा सहिछाप गछौं ।’’

मकवानपुरका महासमिति सदस्य पवित्रा विकले समानुपातिक र प्रत्यक्षतर्फ एक–एक पटकमात्रै चुनाव लड्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

काठमाडौँका अर्का महासमिति सदस्य सुशील भट्टले पार्टीको विधान युवाप्रतिनिधित्व कति हुने हो तोक्नुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘‘विधानमा युवा प्रतिनिधित्व कति हुने हो तोकियोस् ।’’

सिन्धुलीबाट आउनुभएका गोविन्द पहाडीले गठबन्धन बेकारको विषय भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘गठबन्धन बेकारको विषय हो यो आवश्यक छैन । राष्ट्रियता लोकतन्त्र प्रति हाम्रो दृष्टिकोण के हो ? यो स्पष्ट हुनुपर्छ ।’’

धादिङका महासमिति सदस्य बालकृष्ण सापकोटाले गठबन्धनको विषयमा तत्कालीन समयमै निर्णय गर्नेबारे ध्यान दिन भन्नुभयो ।

त्यस्तै नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्षसमेत रहेका महासमिति सदस्य देवेन्द्रकुमार शेरचनले कांग्रेसले आफ्नो नीतिमा खेलकुदलाई पनि समेट्नुपर्ने बताउनु भएको छ । शेरचनले अन्य पार्टीहरूले खेलकुदलाई मूल नीतिका रूपमा अवलम्बन गर्नुपर्ने बताउनुभयो ।  उहाँले भन्नु भयो, ‘‘महासमिति बैठकमा खेलकुदको विषयमा जति चर्चा हुनुपर्ने हो त्यति हुन सकेको छैन । नेपालमा फुटबल र क्रिकेटको राम्रो सम्भावना भए पनि कांग्रेसले त्यसलाई आफ्नो प्राथमिकता दिन सकेको छैन । अब यसलाई सच्याएर जानुपर्छ ।’’

नेपाली विद्यार्थी सङ्घबाट प्रतिनिधित्व गरेका दुजाङ शेर्पाले २०८४ को मिसनभन्दा पनि जनताका मुद्दा सम्बोधनमा कांग्रेस केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले गठबन्धन रणनीतिक विषय भएको पनि बताउनुभयो । महासमिति सदस्य भारती जोशीले तीनवटै प्रतिवेदन राम्रो भएको उल्लेख गर्नै गठबन्धनको विषयलाई कूटनीतिक र रणनीतिक रूपमा निर्णय गरेर अघि बढ्नुपर्ने बताउनुभयो । रोल्पाका महासमिति सदस्य मनोजमणि आचार्यले जनताको निराशालाई सम्बोधन गर्ने गरी कांग्रेसले निर्णय गर्नुपर्ने बताउनुभयो । महासमिति सदस्य भानुभक्त ढकाल महासमिति बैठकले जनताका मुद्दालाई सम्बोधन गरी दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

रुपन्देहीका महासमिति सदस्य दीपक पौडेलले गठबन्धन रहन नभएर बाध्यता भएको र यो बाध्यता अन्त्य गर्न कांग्रेसले पहल चाल्नुपर्ने बताउनुभयो । गुल्मीका महासमिति सदस्य भगवती काफ्लेले गठबन्धन रणनीतिक विषय भएको उल्लेख गर्नुभयो । जनसम्पर्क समिति जापानबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य रोशन केसीले गठबन्धनको विषयलाई अहिले हतार गरेर निर्णय गर्न आवश्यक नभएको बताउनुभयो । नवलपरासीका महासमिति सदस्य अनिता शर्माले भ्रष्टाचार अन्त्य गर्न कांग्रेसले काम गर्नुपर्ने बताउनुभयो ।

रुपन्देहीका महासमिति सदस्य सुन्दरराम गहतराजले महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदन राम्रो भए पनि ती प्रतिवेदनलाई कार्यान्वयन गर्नुमा जोड दिनुपर्ने बताउनुभयो । गुल्मीका महासमिति सदस्य पार्वती कुँवरले भातृसंस्थाको नियमानुसार समयमा नै अधिवेशन गरेर सङ्गठनलाई चलायमान गर्नुपर्ने बताउनुभयो ।  महासमिति सदस्य सञ्जय शेर्पाले कांग्रेसले गठबन्धन जनतासँग गर्नुपर्नेमा जोड दिँदै पार्टीसँगको गठबन्धनलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । महासमिति सदस्य शशिकुमार केसीले भातृसंस्थाको समयमा नै निर्वाचन हुनुपर्ने सुझाव दिनुभयो । जिल्ला र स्थानीय तहका नेताहरू मात्र नभएर कांग्रेस केन्द्रका नेताहरू मात्र नभएपनि गाँउगाउँ जानुपर्ने बताउनुभयो ।

महासमिति सदस्य शान्ता भण्डारी अर्घाखाँची महामन्त्रीको प्रतिवेदनको प्रशंसा गर्दै यसको पालना गर्नुपर्नेमा जोड दिनुभयो । महासमिति सदस्य राजेन्द्र खत्रीले सांस्कृतिक सङ्घलाई शुभेच्छुक नभई भातृसंस्था बनाउनुपर्ने बताउनुभयो । अर्घाखाँचीका महासमिति सदस्य निर्मला क्षेत्रीले महासमितिले पारित गरेका प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । महासमिति सदस्य एकबहादुर पुनले नेपालीलाई नेपालमै बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयरसमेत रहेका महासमिति सदस्य उपेन्द्र कार्कीले गठबन्धनको विषयमा छलफल गर्नु राम्रो भए पनि यसलाई अहिले नै निर्णय गर्नु नहुने बताउनुभयो ।

गोरखाकी महासमिति सदस्य  शोभा अधिकारीले  आर्थिक विकासका लागि बागमती र गण्डकी प्रदेश कृषि, पर्यटन, जडीबुटी, पशुपालन, उद्योग, कलकारखाना, व्यापार व्यवसाय, हाइड्रो आदी सम्भावना भएको क्षेत्र भएको बताउँदै यसमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले विकासका लागि आन्तरिक र बाह्य लगानीको वातावरण सिर्जना गरी नेपाली कांग्रेसले कृषकले उत्पादन गरेका कृषिजन्य सामग्रीलाई सरकार आफैँले खरिद गरेर बजार व्यवस्थापन गर्न पहल गरोस् भन्दै ध्यानाकर्षण गराउनुभयो ।

पार्टीमा ३३ प्रतिशत निर्वाचन क्षेत्र महिलालाई मात्रै छुटाउने र महिला-महिलाबिच मात्रै प्रतिस्पर्धा गराउन पनि उहाँले सुझाव दिनु भयो । उहाँले न्यु मिडिया र सञ्चार क्षेत्रमा भएको दुरुपयोगलाई नियन्त्रण गर्न सञ्चार नीति परिमार्जन गर्न पनि आग्रह गर्नुभयो ।