चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १० गते । ताप्लेजुङको मैवाखोलाखा गाउँपालिका कार्य सम्पादन मूल्याङ्कनमा प्रदेशमै प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार मैवाखोला गाउँपालिका कोशी प्रदेशमै प्रथम भएको हो ।
कोशी प्रदेशका १३७ वटा स्थानीय तहमध्ये यहाँको मैवाखोला गाउँपालिका ४८.३१ अङ्कसहित कोशी प्रदेशमै प्रथम भएको हो । नौ स्थानीय तह रहेको ताप्लेजुङका अन्यमा सिरिजङ्घा गाउँपालिका ४६.०३ अङ्क प्राप्त गरी जिल्लाको दोस्रो र प्रदेशभरमा चौथो भएको छ । यस्तै सदरमुकामस्थित फुङ्लिङ नगरपालिका तेस्रो भएको छ ।
जिल्लामा तेस्रो बनेको फुङ्लिङ नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ३८.११ अङ्क प्राप्त गरेको छ । त्यस्तै फक्ताङ्लुङ गाउँपालिकाले ३६.६० अङ्क प्राप्त गरी चौथो, २९.३७ अङ्कसहित पाथीभरा याङ्वरक गाउँपालिका पाँचौँ भएको छ । छैटाैं स्थानमा आएको मेरिङ्देन गाउँपालिकाले २७.०३ अङ्क र सातौं भएको सिदिङ्वा गाउँपालिकाले २६.८६ अङ्क पाएको छ ।
मूल्याङ्कनमा आठौं भएको आठराई त्रिवेणी गाउँपालिकाले २३.९३ र नवौं अर्थात् जिल्लाको सबैभन्दा न्यून मिक्वाखोला गाउँपालिकाले २२.४७ अङ्क प्राप्त गरेको छ । प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार आयोगले विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गरेको जनाइएको छ । असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/गरेको, आयव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको जस्ता सूचकहरु छन् ।