• १२ साउन २०८१, शनिबार

देशको अर्थव्यवस्था सीमित व्यक्तिको हातमा गयोः सांसद भण्डारी

blog

प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा धारणा राख्दै सांसद चन्द्र भण्डारी । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं, फागुन १० गते । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशको गलत आर्थिक नीतिका कारणले गर्दा अर्थव्यवस्था सीमित व्यक्तिहरुको हातमा गएको बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद भण्डारीले देशको आर्थिक नीति गलत भएको बताउनुभएको हो । उहाँले गलत आर्थिक नीतिका कारण देशको समग्र अर्थव्यवस्था नै केही सीमित व्यक्तिहरुको हातमा पुगेको बताउनुभयो ।

उहाँले एकै व्यक्तिको हातमा बैंक, उद्योग, बिमा, अस्पताल, विद्यालय, जलस्रोतको लाइसेन्सलगायत सबै कुरा रहेको भन्दै यसले अर्थतन्त्र सीमित व्यक्तिको कब्जामा पुर्‍य ाएको जिकिर गर्नुभयो । सांसद भण्डारीले विकास निर्माणका कामहरु पनि लथालिङ्ग रहेको र काम नहुँदा कानुनी कारबाहीसम्म नहुने अवस्थामा रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थव्यवस्थाको सम्बन्धमा संवेदनशील हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

‘‘किन १०/१२ जनाको हातमा, उसैको हातमा बैंक छ । उसैको हातमा उद्योग छ । उसैको हातमा बिमा छ । उसैको हातमा जलस्रोतको लाइसेन्स छ । उसैको हातमा हस्पिटल छ । उसैको हातमा स्कुल छ । उसैको हातमा जमिन खन्ने लाइसेन्स छ । अब यो देश कसरी बन्छ ? एउटा सरकारले चाहेर, सरकारले गर्छु भनेर त्यहाँबाट कसरी निस्किन सक्छ ? यो सबैभन्दा ठुलो महत्त्वपूर्ण कुरा रहेछ ।,’’ सांसद भण्डारीले भन्नुभयो, ‘‘हाम्रो आर्थिक नीतिको गलत कार्यक्रमले गर्दा, आर्थिक नीतिको गलत नीतिका कारणले गर्दा सिमित व्यक्तिको हातमा अर्थव्यवस्था गयो । सायद दुनियाँमा यस्तो कुनैपनि देशमा देखिएको छैन । हामीले सुरु गरेका विकास निर्माणका कामहरु २० औँ वर्ष सकिँदैन । मेलम्ची खानेपानी ६३ अर्बको योजना लथालिङ्ग छ । जहिलेसुकै उद्घाटन मात्रै हुन्छ । सडकहरु त्यही हालतमा छन् । भवनहरु त्यही हालतमा छन् । त्यहाँ कानुन पस्न सक्दैन । त्यहाँ कसैलाई केही पनि हुन सक्दैन । यो अवस्थामा मुलुकलाई कसरी अगाडि बढाउन सक्छौँ ? यस बारेमा संवेदनशील हामी कहिलेदेखि हुनसक्छौँ ?’’

सांसद भण्डारीले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पारित गरिएको लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूभाग समेटिएको चुच्चे नक्सा परराष्ट्र मन्त्रालयको दराजबाट बाहिर निस्किन नसकेको बताउनुभयो । उहाँले नेपालभित्र नेपाली खोज्नुपर्ने र चिन्नुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल भित्र नेपाली खोज्नुपर्ने अवस्था आइरहेको छ । केपी शर्मा ओलीको समयमा हामीले नक्सा पास गर्‍यौँ । सर्वसम्मत पास गर्‍य ाैं । देशभरि दीपावली मनायौँ । तर त्यो पास गरेको नक्सा परराष्ट्र मन्त्रालयको दराजबाट बाहिर निस्किन सकेन । जबसम्म ती मान्छेहरु हामी चिन्न सक्दैनौँ । यो मुलुक हामीले बनाउन सक्दैनौँ । नेपालभित्र नेपाली चिन्नुपर्ने अवस्था भयो । यो कुनै व्यक्ति, कुनै पार्टीको कुरा होइन । हामीले चिन्न नसकेका चुनौती कति छन् ? यस कुरालाई हामीले हेर्नुपर्छ ।’’

सांसद भण्डारीले किसानको नाममा अनुदान अरुले नै खाने गरेको भन्दै तिनीहरुलाई के गर्ने भनेर प्रश्नसमेत गर्नुभयो । उहाँले नेपाली कपडामात्र लगाउने नीति बनाउन सके राज्यको अर्बाैं रुपियाँ बच्ने बताउनुभयो ।