• ११ मंसिर २०८१, मङ्गलबार

बिदापछि मनाङका तीन विद्यालय खुले

blog

विद्यालय खुलेपछि प्रार्थना सभामा सहभागी हुँदै प्रकाशज्योति माविका विद्यार्थी । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, फागुन १० गते ।
पुस लागेसँगै जाडो बिदा गरी बन्द भएका मनाङका विद्यालयहरु खुल्न थालेका छन् । ४५ दिनको जाडो बिदापछि एसईई परीक्षालाई मध्यनजर गरी मनाङका तीन विद्यालय खुलेका हुन् ।

नासोँ गाउँपालिका–५ थोँचेको प्रकाशज्योति आवासीय मावि फागुन १ गतेबाट खुलेको छ चामे गाउँपालिकामा रहेको गौरी शंकर मावि माघ २३ र लोकप्रिय मावि माघ २८ गतेबाट खुलेका छन् ।

यस वर्ष मनाङबाट ४० विद्यार्थीले एसईई परीक्षा दिँदै छन् । प्रकाशज्योति माविबाट १९, लोकप्रिय माविबाट १७, अन्नपूर्ण माविबाट १ र लोकप्रिय  माविबाट (खुल्ला) ३ गरी ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मतिलाल चपाईंले जानकारी दिनुभयो ।

यस वर्षको एसईई परीक्षालाई मनाङ मध्यनजर गरी जाडो भए पनि विद्यालय खोलेको प्रकाशज्योति माविका प्रधानाध्यापक पदमराज पन्थीले बताउनुभयो । उहाँले जाडो बिदाको समयमा पनि लमजुङको च्याम्चेमा विद्यार्थीको घरमै राखेर पठनपाठन गरेको बताउनुभयो ।

प्रधानाध्यापक पन्थीले भन्नुभयो, ‘‘आवासीय विद्यालय भएकाले लमजुङका बच्चा पनि मनाङमा पढ्न आउँछन् । मनाङको सिमानामै पर्ने च्याम्चेका १ दर्जन विद्यार्थी हाम्रैमा पढ्छन् । जाडो बिदाको समयमा च्याम्चेमा घर खोजेर पढायौं ।’’

वार्षिक परीक्षा पनि आइसकेको र पठनपाठनमा लाग्नुपर्ने भएकाले बिहान २ घण्टा र बेलुका २ घण्टा रुटिन बनाएर विज्ञान, गणित, अङ्ग्रेजी र इच्छाधिन गणित पढाउने गरेको प्रअ पन्थीले बताउनुभयो ।

आवासीय विद्यालय भएकाले समय व्यवस्थापनमा समस्या नभएको उहाँले बताउनुभयो । पालिकाले ५० लाख रुपियाँ वार्षिक बजेट छुट्याएर विद्यालयलाई सहयोग गर्दै आइरहेको छ । आवासीय विद्यालय भएकाले प्रति विद्यार्थी एक हजार पाँच सय मासिक शुल्क भने लिने गरेको उहाँले बताउनुभयो । यसका अतिरिक्त १२ जना विद्यार्थीलाई निःशुल्क आवास उपलब्ध गराएको विद्यालयले जनाएको छ । सञ्चालनमा नआएका विद्यालयका शिक्षकलाई काजमा ल्याएर पठनपाठन गरिरहेको पन्थीले जवानकारी दिनुभयो ।

मनाङका अन्य बाँकी विद्यालयहरु फागुन १५ पछि मात्रै खुल्ने भएका छन् भने नार्पाभूमि गाउँपालिकाका विद्यालयहरु काठमाडौं सञ्चालन भइरहेकाले वार्षिक परीक्षा सकाएर नतिजा प्रकाशन गरी नयाँ शैक्षिक सत्रका लागि वैशाखमा सञ्चालन गरिने नार्पाभूमि गाउँपालिकाका शिक्षा शाखा प्रमुख मनिषा विकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘एक त विकट छ, सदरमुकामबाटै जान दुई दिन लाग्छ । सडक सञ्जाल पुगेको छैन भने अर्कोतर्फ नार्पाभूमिमा अहिले बाक्लो हिउँ छ, चिसो धेरै छ ।’’