• ७ जेठ २०८१, सोमबार

राष्ट्रपति पौडेल आज बागलुङ पञ्चकोट आउनुहुँदै

blog

ठाकुरप्रसाद आचार्य

बागलुङ,फागुन १० गते । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहीबार बिहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट आउँदै हुनुहुन्छ । बुधवार देखि पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल यहाँ आउन लाग्नुभएको हो । 

 बिहान ९ बजेर तीस मिनेटमा राष्ट्रपति पौडेल पञ्चकोट आइपुग्नुहुने महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘महायज्ञमा आज राष्ट्रपति आउने कार्यक्रम भएकाले यहाँको व्यवस्थापकीय तयारी पुरा गरेका छौँ । महायज्ञमा उहाँ आउने कुराले हामी निकै उत्साहित भएका छौँ । महायज्ञमा सहभागी भएर उहाँले हामीलाई थप ऊर्जा प्रदान गर्नुहुनेछ ।’’ राष्ट्रपति आउने भएपछि बागलुङको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

राष्ट्रपति पौडेलबाट पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको ध्वन्यात्मक मुक्तिनाथ महाघण्टको समुद्घाटन,यज्ञ मण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएका छन् ।  

पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न १५ दिन सम्म सञ्चालन हुने ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको हो । महायज्ञको बुधवार नौ वर्ष मुनिका एक सय ८ जना कन्याहरूबाट सामूहिक रूपमा दीप प्रज्वलन गरेर शुभारम्भ गरिएको थियो ।  

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा सञ्चालन गरिएको महायज्ञ नेपालमै पहिलो भएको महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताउनुभएको छ । 

जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । महायज्ञ मार्फत जल सम्पदाको संरक्षण,पर्यटन प्रवर्द्धन गर्नुका साथै मौलिक धर्म संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै पञ्चकोटलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्य रहेको महायज्ञका सङ्कल्पकर्ता कमलनयनाचार्यले बताउनुभयो । महायज्ञ फागुन २३ गते सम्म सञ्चालन हुनेछ । 

सर्वसिद्धिधाम पञ्चकोट । तस्विरः गोरखापत्र