• १३ मंसिर २०८१, बिहिबार

दुई घण्टा हिँडेपछि बल्ल विद्यालय

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागुन ८ गते । मोरङ भन्नेबित्तिकै औसत मानिसको बुझाइ विकसित तराईको जिल्ला, कोशी प्रदेशको राजधानी, धान फल्ने फाँट भएको क्षेत्र बुझिन्छ । यही मोरङका बालबालिका अझै पनि दुई घण्टा पैदल हिँडेर विद्यालय जान्छन् भन्दा पत्यार नलाग्न सक्छ तर मोरङको केराबारी–५, भकारे र केराबारी–४ को डहरका बालबालिकालाई गाउँको सबैभन्दा नजिकको जनसेवा आधारभूत विद्यालय जान पूरै दुई घण्टा पैदल हिँड्नु पर्छ । 

कक्षा ६ मा अध्ययन गरिरहेकी भकारेकी विमला मगरले भन्नुभयो, “नयाँ मान्छेलाई अढाई घण्टा लाग्छ । हामी त बानी परेका छौँ । दुई घण्टामा नै विद्यालय पुग्छौँ ।” केराबारी–४, डहरकी दिलकुमारी मगरले भन्नुभयो, “हामी सात जना विद्यार्थी छौँ । बाटामा हुरहुरे र बुढी खोला पर्छन् । खोलामा पुल छैन । बाढी आयो भने बाटोबाटै घर फर्किनु पर्छ । विद्यालयबाट घर फर्कंदा बाढी आयो भने साथीहरूकोमा बस्नु पर्छ ।” कक्षा ५ मा पढ्ने ईशा, पुस्कल र निश्चल मगर तथा कक्षा ३ मा पढ्ने विवेक र विसन मगर पनि नियमित दुई घण्टा हिँडेर विद्यालय जानुहुन्छ । 

पश्चिमउत्तरको साबिक याङ्सिला गाविसका अधिकांश गाउँमा विकास भर्खर पुग्दै छ । जनसेवा आधारभूत विद्यालयका शिक्षक कुमारबहादुर विश्वकर्माले भन्नुभयो, “पहाडी गाउँ भएकाले दुःख गर्नु पर्छ । टाढाका विद्यार्थीलाई छात्रावासको व्यवस्था गर्न पहल भइरहेको छ । पहाडी गाउँबाट बसाइँ सर्ने व्रmम बढेसँगै विद्यालयमा विद्यार्थीको अभाव हुन थालेको छ ।” उहाँले दुई घण्टा हिँडेर भए पनि सबै विद्यार्थी नियमित विद्यालय आउने गरेको बताउनुभयो ।