गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले असफलसिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको बताउनुभएको छ ।
उपकुलपति छनौटमा भागबण्डा नभई एकलौटी गर्ने नयाँ तरिकाअनुसार असफलसिद्ध भइसकेको व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति बनाउन लागेको ओलीको जिकिर छ । सोमवार काठमाडौँमा आयोजित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भेलामा उहाँले सो कुरा बताउनुभएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको छ ।
“डेमोक्रेटिक म्यानर, डेमोक्रेटिक बिह्याविअर, डेमोक्रेटिक प्राक्टिस अझै पनि नेपालमा स्थापना हुन सकेन । हामीले बसालेको लोकतान्त्रिक थिति पनि गठबन्धनले भत्काउँदैछ” अध्यक्ष ओलीले भन्नुभयो, “गठबन्धन सरकारले सबै थितिहरू फ्याँक्दैछ ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्नो पार्टी सरकारमा रहेका बेला बसालेको लोकतान्त्रिक थिति पनि भत्काउँदैगएको आरोप लगाउनुभयो । नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य रहेको उल्लेख गर्दै त्यसलाई बद्नाम हुन नदिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।