विराटनगर समाचारदाता
विराटनगर, फागुन ७ गते । निजी डेरी उद्योगको तुलनामा वस्तुको मूल्य महँगो भएपछि कोशी प्रदेशमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले झन्डै ४० प्रतिशत बजार हिस्सा गुमाएको छ । पछिल्लो तीन महिनायता मात्र डिडिसीले मूल्यान्तरकै कारण खुद्रा बजारको ठुलो हिस्सा गुमाएको हो ।
बजार मागको अनुपातमा दुधको उत्पादन बढी भएपछि कोशी प्रदेशमा सञ्चालित निजी डेरी उद्योगले दुधको उपभोक्ता मूल्य घटाएका थिए । नेपाल सरकारले किसानसँग न्यूनतम ६५ रुपियाँ प्रतिलिटरका दरले दुध खरिद गर्ने निर्णय गरेसँगै गत वर्ष दुधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँले बढाएको थियो । त्यसपछि बजारमा दुधको माग क्रमश घट्दै गएको थियो भने दुधको मूल्य बढेपछि किसानले दुध उत्पादन बढाउँदा उत्पादन बढेको थियो । बजारमा उत्पादन बढ्ने र माग घट्ने अवस्था भएपछि मङ्सिर १ गतेबाट लागु हुने गरी निजी डेरी उद्योगहरूले दुधको मूल्य प्रतिलिटर १० रुपियाँले घटाएका थिए । तर, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले पुरानै मूल्यमा उत्पादन बिक्री गरिरहेको छ ।
चालिस प्रतिशतले खुम्चियो खुद्रा बजार
निजी डेरीको भन्दा डिडिसीको दुध महँगो भएपछि विराटनगर दुग्ध वितरण आयोजनाको बजार पछिल्लो तीन महिनामा ४० प्रतिशतले घटेको छ ।
दैनिक तीन हजार लिटर कात्तिक महिनासम्म विराटनगर दुग्ध वितरण आयोजनाले दैनिक आठदेखि नौ हजार लिटर दुध बजारमा बिक्री गर्दै आएको थियो । अहिले दैनिक तीन हजार लिटरभन्दा बढीले बिक्री घटेको छ । मुस्किलले पाँच हजार लिटर दुध बजारमा बिक्री गर्दै आइरहेको छ । दैनिक २५ देखि ३० हजार लिटर दुध सङ्कलन गरिरहेको आयोजनाले बजार विस्तार गर्नुको साटो अझ गुमाउँदै जाने अवस्था बनेको हो ।
विराटनगर दुग्ध वितरण आयोजना विराटनगरका प्रमुख परमेश्वर चौधरीले निजी डेरी उद्योग र डिडिसीबाट उत्पादित वस्तुको मूल्यमा अन्तर हुँदा बजारमा असर परेको जानकारी दिनुभयो ।
चौधरीले भन्नुभयो, “निजी डेरी उद्योगले मूल्य घटाएर बिक्री गरेका छन् तर हाम्रो पुरानै मूल्य छ । त्यसले हाम्रो बजार दैनिक तीन हजार लिटरभन्दा बढीले घटेको छ, यो विषय हाम्रो आयोजनाबाट समाधान गर्न सकिने कुरा भएन त्यसैले केन्द्रमा यसले पारेको असरका बारेमा जानकारी गराएका छौँ ।”
डिडिसीले खुद्रा बजार गुमाउँदै गएपछि दही, पनिर र नौनीको मूल्य घटाएको थियो तर दुधको मूल्य भने यथावत् नै राखेको छ । दही, पनिर र नौनीको मूल्य घटाएपछि बजार गिरावट हुने दरमा कमी आएको भए पनि निजी डेरीको उत्पादनको तुलनामा महँगो हुँदा प्रतिस्पर्धा गर्न भने गाह्रो छ ।
संस्थानका केन्द्रीय सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले मूल्यमा भएको अन्तरको समस्या पूर्वमा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वमा यो समस्या देखिएको छ र हामीले त्यसलाई समाधान गर्न के उपाय खोज्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ, मूल्यकै कारण बजार गुम्ने अवस्थाप्रति हामी संवेदनशील भएका छौँ ।”
किसानलाई छ महिनादेखिको भुक्तानी दिन बाँकी
संस्थानको विराटनगर दुग्ध वितरण आयोजनाले पछिल्लो समय बजार मात्र गुमाइरहेको छैन किसानलाई दिनुपर्ने भुक्तानी पनि निरन्तर बढ्दै जाँदा समस्या थपिएको छ । विराटनगर आयोजनालाई दुध बिक्री गरेका इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र तेह्रथुम आदि जिल्लाका दुध उत्पादक किसानलाई छ महिनादेखि भुक्तानी दिन सकेको छैन । दुध बिक्री गरेको रकम आधा वर्षसम्म भुक्तानी नपाएपछि किसानहरू धेरै मर्कामा परेका छन् । विराटनगर दुग्ध वितरण आयोजनाले छ महिनामा करिब ३० करोड रुपियाँ किसानलाई भुक्तानी दिन बाँकी छ ।
पाउडर र बटर (नौनी) ले गोदाम भरिए
दुध सङ्कलन बढी हुने तर बजार घट्दै जाने अवस्थाका कारण दुग्ध विकास संस्थानमा धुलो दुध र नौनी घिउको मौज्दात निरन्तर बढ्दै गएको छ । विराटनगर आयोजनामा अहिले ५० हजार किलो (५० टन) पाउडर दुध र एक लाख ५० हजार किलो (१५० टन) बटर गोदाममा थन्किएको छ ।
दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार संस्थानसँग यतिबेला नौ लाख किलो (९०० मे.ट.) पाउडर दुध र छ लाख किलो बटर मौज्दात छ । प्रतिकिलो एक हजार रुपियाँभन्दा बढी मूल्य पर्ने धुलो दुध र नौनी घिउ ठुलो परिमाणमा मौज्दात राख्नु पर्दा डिडिसीले आर्थिक समस्या झेल्नु परेको हो । सूचना अधिकारी राजेन्द्रप्रसादले भन्नुभयो, “अब जाडो महिना सकिँदै गएकाले गर्मी लागेसँगै दुध र दुधबाट बनेका वस्तुहरू दही, आइसक्रिम आदिको बिक्री बढ्ने र दुधको उत्पादन तुलनात्मक रूपमा घट्ने भएकाले मौज्दात व्यवस्थापन गर्न धेरै समस्या नहोला ।” त्यसबाहेक बिस्कुट, पाउरोटी आदि उद्योगलाई स्वदेशी पाउडर दुध प्रयोग गर्ने वातावरण बनाउन सक्दा पनि धुलो दुधको खपत बढ्न सक्ने निजी डेरी उद्योग सञ्चालकहरू बताउँछन् ।
कर्मचारीलाई दुई महिनाको तलब बाँकी
दुग्ध वितरण आयोजना विराटनगरमा कार्यरत कर्मचारीले दुई महिनादेखिको तलब सुविधा पाएका छैनन् । संस्थान आर्थिक समस्यामा परेकै कारण कर्मचारीको तलब पनि नियमित हुन नसकेको हो । छ महिनादेखि किसानलाई दुधको भुक्तानी दिन नसकेको डिडिसीले पछिल्लो समय कर्मचारीलाई तलब खुवाउन पनि नसक्ने अवस्था बनेको कर्मचारीले बताएका छन् ।