• १२ साउन २०८१, शनिबार

पाथीभरा याङ्वरकलाई सिदिङ्वा रनिङ शिल्ड भलिबल उपाधि

blog

उपाधि विजेता पाथीभरा याङ्वरक गाउँपालिकाका खेलाडीहरू । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन ६ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सम्पन्न प्रथम सिदिङ्वा रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरक गाउँपालिकाले जितेको छ । आइतबार भएको फाइनलमा आयोजक सिदिङ्वा गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै पाथीभरा याङ्वरकले उपाधि जितेको हो ।

फाइनल खेलमा २७–२५ ले पहिलो सेट जितेको सिदिङ्वालाई पाथीभरा याङ्वरकले लगातार दोस्रो, तेस्रो र चौथो सेट २५–२१, २५–२१, २५–१३ ले जित हात पार्दै उपाधि जित्न सफल भएको हो । 

उपाधि जितसँगै पाथीभरा याङ्वरक गाउँपालिकाले रनिङ शिल्डसहित दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाएको छ । उपविजेता बनेको  सिदिङ्वा गाउँपालिकाले एक लाख २५ हजार रुपियाँ प्राप्त गरेको छ । 

तृतीय र चौथो स्थान प्राप्त गरेका अन्य दुई टोलीलाई सान्त्वना पुरस्कार स्वरूप समान २५ हजार रुपियाँका दरले प्रदान गरिएको सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेतालाई कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कडरिया लगायतले पुरस्कार राशि, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । शुक्रबारदेखि सुरु भएको  प्रतियोगितामा पाँचथरका दुईसहित सात टोलीका सहभागिता रहेको थियो ।