• १३ साउन २०८१, आइतबार

तनहुँमा २१ हजार बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप

blog

अभियानबारे जानकारी दिँदै स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारी । तस्बिर :अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, फागुन ६ गते । तनहुँमा झण्डै २१ हजार बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको छ । दादुरा–रुवेला खोप अभियान अन्तर्गत ९ महिनादेखि ५ वर्ष सम्मका २०  हजार आठ सय चार बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । 

फागुन १५ देखि २० गतेसम्म पहिलो चरण र २२ देखि २२ गते दोस्रो गरी दुई चरणमा खोप सञ्चालन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । अधिकारीका अनुसार पहिलो चरण व्यास नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिका गरी पाँच पालिकामा र दोस्रो चरणमा भानु नगरपालिका शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा खोप सञ्चालन गरिने छ । 

नियमित खोप लगाउन छुटेका बालबालिका पनि नछुटुन् भनेर पहिलो र दोस्रो चरणमा खोप अभियान सञ्चालन गरिएको हो ।  खोप सञ्चालनको लागि जिल्लाका १० पालिकाका विभिन्न स्थानमा दुई सय ३८ वटा खोप केन्द्र तोकिएको छ ।

सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने 

निर्णय गरेसँगै अभियान सफलतापूर्वक सम्पन्न गर्न स्वास्थ्य कार्यालय तनहुँले आवश्यक तयारी थालेको छ । बालबालिका पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा रुबेला महामारीका रूपमा देखा पर्दै आएकाले अभियान सञ्चालन गरिएको आइतबार सञ्चारकर्मीलाई अभियानबारे जानकारी दिने कार्यक्रममा बताइएको थियो । दुरा रुवेला विरुद्ध खोप लगाउँदा अपाङ्गता र मृत्युदरलाई गर्न, विभिन्न रोगहरूको निवारण र उन्मुलन गर्ने दमौली अस्पतालकी मेडिकल अधिकृत डा. बिपना गुरुङले बताउनुभयो । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौलीका प्रमुख डा. नारायण श्रेष्ठले कुपोषण भएका, अन्य रोग लागेका बालबालिकालाई जटिलता उत्पन्न हुने हुँदा दादुरा र रुवेलाको खोप लगाउनु पर्ने बताउनुभयो । यही फागुनको १५ गतेदेखि अभियानका रूपमा दादुरा रुवेला रोग विरुद्धको खोप लगाउने कार्यक्रम रहेकाले सम्पूर्ण बालबालिकालाई अभियानमा सहभागी हुन कार्यालयले अनुरोध गरेको छ । 

नेपालमा सन् २०२६ सम्म दादुरा–रुवेला रोग उन्मूलन गर्ने उद्देश्य अनुसार बर्सेनि दादुरा–रुवेला रोग विरुद्धको खोप लगाउने गरेपनि सबै बालबालिकाहरू अभियानमा सहभागी नहुँदा समस्या भएको छ। 

प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले अभियानका क्रममा दादुरा–रुवेला विरुद्धको खोपसँगै ५ वर्षभन्दा मुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकाले अभियानमा सहभागी हुन सर्वलाई आग्रह गर्नुभयो । 

पूर्ण खोप सूनिश्चता र दिगोपनको लागि व्यापक प्रचार प्रसार गरी कोही पनि नछुट्ने गरी खोप लगाउने अभियानलाई सफल बनाउनुपर्ने उहाँले बताउनुभयो । साथै उहाँले अभियानलाई सफल पार्न अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।  

जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख वासुदेव थापाले बालबालिकाको स्वस्थ भविष्य सुनिश्चिताका लागि खोप अभियान सफल बनाउन सम्बन्धित सबै सरोकारपक्षसँग आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँका मन्त्री सूर्यचन्द्र हड्खलेले सीमान्तकृत तथा पछाडि परेका समुदाय छुट्ने जोखिम भएकोले अभियान त्यस्ता ठाउँमा लक्षित गरी सचेतना कार्यक्रम  सञ्चालन गरिनु आवश्यक रहेको बताउनुभयो । अभियान सफल बनाउन घर घरमा निम्तो कार्ड समेत बाँडिने कार्यालयले जनाएको छ ।