• ७ जेठ २०८१, सोमबार

मादीमा चिप्ली महाशिवरात्रि मेला हुने

blog

सन्तोष सुवेदी

कास्की, फागुन ६ गते । फागुन २४ देखि २६ गतेसम्म चिप्ली महाशिवरात्रि मेला हुने भएको छ । श्री सिद्ध युवा क्लब मादी गाउँपालिका–६ चिप्लीको आयोजनामा हुने सो मेला क्लबको खेल मैदानमा हुने भएको हो ।

मेलाको अवसरमा विविध खेलकुद एवम् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । ३६ वर्षअघि स्थापना भएको क्लबको वार्षिक उत्सवको अवसरमा मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी दिनुभयो ।

‘‘चिप्ली महाशिवरात्रि मेला क्लबको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो । कार्यक्रममा भलिबल, छेलो, रस्सी तान्ने र घैँटो फुटाउनेजस्ता खेलकुद कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रम गरिने उहाँले बताउनुभयो । 

चिप्लीको विकासमा सो कार्यक्रममार्फत टेवा पुग्ने विश्वास आयोजक संस्थाको छ । स्थानीय उत्पादनको प्रवर्धनसँगै खेलकुदका माध्यम पर्यटन प्रवर्धनमा चिप्लीलाई माथि उठाउन मेला साहयकसिद्ध हुने उहाँले चर्चा गर्नुभयो । मेलाकै समयमा मादी गाउँपालिकाको सहयोगमा सिद्ध युवा क्लबले निर्माण गरेको स्टेज समेत उद्घाटन गरिने क्लबका पूर्वअध्यक्ष विशाल गुरुङले जानकारी दिनुभयो । मेलाको उद्घाटन मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गर्नुहुने आयोजकले जनाएको छ ।

मेलामा आयोजना गरिएको भलिबल प्रतियोगिता साबिक गाउँस्तरिय हुनेछ । जसमा २० टिमको सहभागिता रहने आयोजकको भनाइ छ । भलिबल प्रतियोगितामा प्रथम हुनेले ७० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वितीय हुनेले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङले बताउनभयो ।

छेलो प्रतियोगितामा प्रथम हुनेले १० हजार नगदसहित फेता र प्रमाणपत्र प्राप्त गर्नेछन् । रस्सी तान्ने प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । घैँटो फुटाई प्रतियोगिता महिलाको मात्र हुने बताइएको छ । जसमा प्रथम हुनेलाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

भलिबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिर निस्केको दुई टिमलाई ५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइएको छ । फागुन २५ गते बेलुका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।