• ५ माघ २०८१, शनिबार

रौतहटकाे ईशनाथमा कर्फ्यु जारी

blog

फाइल तस्बिर ।

सञ्जयकुमार मिश्र

गौर, फागुन ६ गते । स्थानीय प्रसाशनले दुई पक्षबिचको झडप नियन्त्रण गर्न लगाएको कर्फ्यु आइतबार पनि जारी राखेको छ । 

जिल्ला प्रशासन कार्यालय रौतहटले ईशनाथ नगरपालिका ६ र ७ मा सरस्वती मूर्ति विसर्जनको क्रममा मोतीपुरमा भएको दुई पक्षको वादविवाद तथा झडपलाई नियन्त्रण गर्न शनिवार बेलुका ५ बजे देखि कर्फ्यु लगाएको थियो ।

सरस्वती मूर्ति विसर्जनलाई लिएर फागुन ३ गते भएको वादविवाद तथा झडपको विषयलाई लिएर शनिवार पुनः वादविवाद र झडपको स्थिति उत्पन्न भएकोले सर्वसाधारणमा पर्न सक्ने सम्भावित जोखिम र शान्ति भङ्ग हुन जाने स्थिति देखिएकोले स्थानीय प्रसाशनले कर्फ्यु आदेश जारी गरेका थिए ।

ईशनाथ नपाको पूर्वमा जोकहा गाउँ पश्चिम सानो जोकहा गाउँ दक्षिणमा जयनगर प्रहरी चौकी तथा उत्तरमा रामपुरखाप एपिएफ बिओपी सीमाक्षेत्रमा बेलुकादेखि अर्को आदेश नहुन्जेलसम्म कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताउनुभयो ।

कर्फ्यु जारी सीमा क्षेत्रभित्र कसैले हिँडडुल, आवतजावत, भेला, जुलुस प्रदर्शन तथा कुनै किसिमको उच्छृङ्खल गतिविधि गर्न नपाउने स्थानीय प्रसाशन ऐन, २०२८ को दफा ६(क)बमोजिम कर्फ्यु आदेश जारी गरिएको तथा उक्त आदेशको बर्खिलाफ भएमा कानुन बमोजिम कडा कार्यवाही हुने प्रमुख जिल्ला अधिकारी रेग्मीद्वारा जारी आदेशमार्फत जनाइएको छ ।

कर्फ्यु सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ७ सय सुरक्षाकर्मी परिचालन गरिएको तथा त्यस क्षेत्रको अवस्था नियन्त्रणमा रहेको तथा अर्को आदेशसम्मको लागि कर्फ्यु आदेश जारी रहेको प्रहरी नायब उपरीक्षक एलिया गिरीले जानकारी दिनुभयो ।