• १५ मंसिर २०८१, शनिबार

बेँसीसहर–चामे सडक : तीन दशकपछि गरिँदै कालोपत्रे

blog

यदुप्रसाद भट्ट

मनाङ, फागुन ६ गते । मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको डुम्रे बेँसीसहर–चामे सडक सात किलोमिटर कालोपत्रे गरिएको छ । मनाङ जोड्ने एक मात्र सो सडकखण्डको ७.८ किलोमिटर सडक कालोपत्रे भएको हो । डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर किरण पोखरेलले अब सात सय मिटर कालोपत्रे गर्न बाँकी रहेको जानकारी दिनुभयो । स्तरोन्नति तथा कालोपत्रे गर्न हालसम्म १९ करोड रुपियाँ खर्च भइसकेको उक्त सडकको ८५ प्रतिशत काम सकिइसकेको छ । कुल ५२ करोड ९६ लाख रुपियाँ लागत अनुमान गरिएकोमा २५ करोड ३२ लाख रुपियाँमा कालोपत्रेको सम्झौता भएको सडक योजना कार्यालयले जनाएको छ । २०७८ साल असारमा सम्झौता गरे पनि वर्षाका कारण असोजदेखि मात्र काम सुरु भएको थियो । सम्झौता अनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि २०८१ साल असार ३० गतेसम्म म्याद थप गरिएको छ । विविध कारणले निर्माण रोकिएपछि २०५७ सालदेखि तत्कालीन नेपाली सेनाले सडक निर्माणको जिम्मा पाएको थियो । ६५ किलोमिटर दुरी रहेको यस खण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी पर्दछ । 

सबइन्जिनियर सुमन अधिकारीले हिउँदमा बढी चिसोको समस्याले गर्दा मनाङतर्फको सडकखण्ड निर्माण सुस्त भएको बताउनुभयो । उहाँले अब चिसो घटेसँगै तीव्र रूपमा काम अघि बढाइने जानकारी दिनुभयो । ट्र्याक खोलेको २९ वर्षपछि लमजुङ खण्डमा अमेरिकी प्रविधिको अस्फाल्ट कालोपत्रे राख्ने काम भइरहेको छ भने सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा तथा कटिङ गर्ने, नाली बनाउनेलगायत काम सम्पन्न भएको इन्जिनियर पोखरेलले जानकारी दिनुभयो । 

सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको रहेको पोखरेलले बताउनुभयो । उहाँका अनुसार बस्ती भएका ठाउँमा दुईतर्फी र बस्ती नभएका ठाउँमा एकतर्फी नाली निर्माण गरिएको छ । अन्तिम चरणको काम कालोपत्रे सम्पन्न भएसँगै रोड मार्किङ गर्ने, किलोमिटर पोस्ट राख्ने, रोड पेन्टिङलगायत काम हुने इन्जिनियर पोखरेलले बताउनुभयो ।