काठमाडौँ, फागुन ५ गते। नेवाः पत्रकार राष्ट्रिय दबूले १२ औँ वार्षिक साधारण सभामा शनिबार नेपालभाषा, संस्कृति प्रवर्द्धन तथा समावेशीकरण मुद्दामा उल्लेखनीय योगदान दिएको भन्दै गोरखापत्र दैनिकका सम्पादक सल्लाहकार उपेश महर्जनलाई विशेष सम्मान गरेको छ। उहाँसगै गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्य, र आदिवासी जनजाति पत्रकार महासंघका पूर्व अध्यक्ष दण्ड गुरुङलाई सम्मान गरिएको हो।
नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाली सञ्चार क्षेत्रका साथै मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने छ जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको हो। नेपाल भाषा मंका खलको भवनमा भएको कार्यक्रममा माउन्टेन टेलिभिजनका विश्वन्तर शाक्यलाई २० हजार रुपियाँ राशीसहित ज्ञानज्योति लक्ष्मी प्रभा पुरस्कार प्रदान गरियो। झंकार एफएम रामेछापका युवराज श्रेष्ठ ज्ञानदेवी मणि पत्रकारिता पुरस्कारले सम्मानित हुनुभयो। उहाँलाई १५ हजार रुपियाँले पुरस्कृत गरियो।
बौद्ध धर्मको सन्देश प्रचार प्रसारमा योगदान दिएको कदरस्वरुप मेट्रो एफएमका उदेन न्हूसायमिलाई भिक्षु कुमार कश्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। जसको पुरस्कार राशी १२ हजार रुपियाँ रहेको छ। यसैगरी नेपाल मण्डलकी सिल्भिया राजोपाध्याय वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार, अनलाइन डबलीका बुद्धशरण शाही बाबुराजा ज्यापु फोटो पत्रकारिता सम्मान र अनलाइन खबरकी रेणु त्वानाबासु श्रीराम स्मृति पत्रकारिता पुरस्कारले सम्मानित हुनुभयो। यी तीनै जनाले जनही १० हजार रुपियाँ प्राप्त गर्नुभयो। नेवाः पत्रकार राष्ट्रिय दुबले २०७४ सालदेखि साधारणसभामा नेपाल भाषाका पत्रकारलाई सम्मानित गर्ने परम्पराको थालनी गरेको हो।
बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, भिक्षू कौडण्य, नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष श्रेष्ठलगायतले पुरस्कृत तथा सम्मानित हुनेहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो।
सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूको स्मारिका ‘लुमन्ति पौ’ को विमोचन गरिएको छ।
नेपाल भाषा मंका खलको भवनमा भएको कार्यक्रममा बागमती प्रदेशका मन्त्री चित्रकारले पत्रकारको इतिहासलाई समग्ररुपमा अगाडि बढाउन बुलन्दरुपमा आवाज उठिरहको र यसलाई अझ घनीभूतरुपमा सबै जनताले सुन्ने गरी प्रतिध्वन्धित गर्ने सामथ्र्य विकास होस् भनी शुभकामना दिनुभयो। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पत्रकारले आप्mनो जिम्मेवारी सही तरिकाले निर्वाह गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो। समाजलाई कता डोर्याउने भन्ने जिम्मेवारीबोध पत्रकारहरुले गर्नुपर्ने उहाँको भनाइ छ।
आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राईले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षमा स्थापित गर्ने अभियान सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो।
नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले पनि सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष स्थापित गर्ने अभियान नरोकिने जानकारी दिँदै मातृभाषा पत्रकारको क्षमता विकासका लागि मातृभाषा सञ्चार प्रतिष्ठान सरकारले गठन गर्नुपर्ने धारणा राख्नुभयो।
दबुका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले क्रियाशील पत्रकारको हौसला दिने उद्देश्यले पुरस्कार प्रदान गर्दै आएको जानकारी दिनुभयो। यसैगरी वरिष्ठ उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेपाल पत्रकार महासंघ र आदिवासी जनजाति महासंघ हुँदाहुँदै पनि नेपाल भाषाका पत्रकारले महासंघमा स्वतन्त्रता नपाइने र आप्mनो हकअधिकारको कुरा गर्न नपाइने भएकोले नेवाः पत्रकार राष्ट्रिय दबुको गठन भएको बताउनुभयो।