• १४ मंसिर २०८१, शुक्रबार

म्याग्दीमा पाँच हजार सवारी कारबाहीमा

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन ५ गते। जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका साढे पाँच हजार भन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख वरिष्ठ सई राजकुमार केसीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको अवधिमा पाँच हजार छ सय ६४ वटा सवारी साधनलाई कारबाही गरिएको हो। जसमध्ये ४० लाख १६ हजार पाँच सय रुपियाँ जरिवाना बापत राजश्व सङ्कलन भएको छ। 

सबै भन्दा धेरै तीन हजार तीन सय ७२ जिप तथा कारलाई कारबाही गर्दा २३ लाख ५८ हजार रुपियाँ राजश्व सङ्कलन भएको छ। एक हजार एक सय ६१ मोटरसाइकललाई कारबाही गर्दा ९ लाख १८ हजार पाँच सय रुपियाँ राजश्व सङ्कलन भएको छ।

त्यसैगरी चालु आर्थिक वर्षमा १४ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। भदौ, कार्तिक र पुसमा भएको दुर्घटनामा एक/एक जना पुरुषको मृत्यु भएको हो। दुर्घटनामा १२ जना घाइते भएका थिए । उक्त अवधिमा ८ वटा मोटरसाइकल, एउटा बस, दुई वटा जिप र तीन वटा ट्याक्टर दुर्घटना भएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा कुल ७३ लाख २७ हजार पाँच सय रुपियाँ राजश्व सङ्कलन गरेको थियो। उक्त आर्थिक वर्षमा ९ हजार दुई सय वटा सवारी साधनलाई कारबाही गरिएको थियो।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, बढी भाडा लिने, रातोप्लेट सवारी साधनमा भाडाका मान्छे बोक्ने, तोकिएको मापदण्ड भन्दा बढी भार बहन गर्ने ट्रक/टिपर, बस, कार जिप, ट्याक्टर, मोटरसाइकल लगायतका सवारीलाई कारबाही गरिएको थियो। 

आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष राजश्व सङ्कलन वृद्धि आएको थियो। आर्थिक वर्ष ०७७/०७८ मा चार हजार आठ सय ५० सवारीलाई कारबाही गर्दा ३० लाख ७३ हजार पाँच सय रुपियाँ राजश्व सङ्कलन भएको थियो। त्यस्तै आर्थिक वर्ष ०७८/७९ मा ६३ लाख ९१ हजार पाँच सय रुपियाँ राजश्व सङ्कलन भएको थियो। 

गत आर्थिक वर्षमा १३ वटा सवारी दुर्घटना हुँदा चार जना मृत्यु भएको थियो भने १२ जना सामान्य र ४ जना गम्भीर घाइते भएका थिए। त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा १८ वटा सवारीसाधन दुर्घटना हुँदा १३ पुरुष र २ महिला गरी १५ जनाको मृत्यु भएको थियो। त्यस्तै १८ जना मानिस घाइते भएका थिए भने एउटा पशुको मृत्यु भएको थियो।

गत आर्थिक वर्षमा प्रयोजन विपरीत सञ्चालन गरिएका चार सय ३४ वटा निजी सवारी साधनलाई कारबाही गरेको थियो। उक्त सङ्ख्यामा निजी सवारी साधनलाई कारबाही गर्दा आठ लाख ४६ हजार रुपियाँ राजश्व सङ्कलन भएको छ।