• ५ जेठ २०८१, शनिबार

अपाङ्गता अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयनमा जोड

blog

सुर्खेतको वीरेन्द्रनगरमा भएको स्थानीय तहमा अपाङ्गता समावेशी विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रम । तस्बिर : रजनी योगी

रजनी योगी 

सुर्खेत, फागुन ५ गते । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

वीरेन्द्रनगरमा भएको स्थानीय तहमा अपाङ्गता समावेशी विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनबाट मात्र अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने बताउनुभयो । 

सो कार्यक्रममा उहाँले पालिकाको तर्फबाट १० बुँदे प्रतिबद्धता समेत जनाउनुभयो । वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सरकारी कार्यालयको पहुँच परीक्षण र अपाङ्गमैत्री संरचना निर्माण गर्ने उहाँले पहिलो प्रतिविद्धताको रूपमा राख्नुभयो । आय–आर्जनका लागि सीप, क्षमता तथा सामग्री नाँपजाँच गरी प्रदान गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइनेछ । 

साङ्केतिक भाषा तालिम सञ्चालन गर्ने, नगर सभाबाट पारित कार्यक्रमको सर्वसुलभ पहुँचयोग्य ढाँचामा प्रकाशन गर्ने, पहुँचयुक्त शौचालय निर्माण गर्ने, अपाङ्गता परिचयपत्र डिजिटल बनाउने, नगरपालिकामा अपाङ्गता सहायता कक्ष निर्माण गर्ने, नगरपालिकाले सञ्चालन गर्ने विभिन्न गतिविधिमा अपाङ्गता भएका व्यक्तिलाई सहभागी गराउने, खण्डीकृत तथ्याङ्क सङ्कलन गर्ने, अपाङ्गता क्षेत्रमा बजेट विनियोजन गर्ने र परिचालन गर्ने प्रतिबद्धता गरिएको छ । 

अपाङ्गता भएका व्यक्तिको न्यायोचित सवाल सम्बोधन हुनुपर्ने कार्यक्रमका सहभागीको जोड छ । अपाङ्गता भएका व्यक्तिहरूले रोजगारी, शिक्षा, स्वास्थ्य, आय–आर्जनलगायतका सेवामा समावेशी र समान पहुँच हुनु पर्नेमा जोड दिइएको छ । सरोकारवालाले नीतिमा व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको जनाएका थिए । 

प्रदेशको राजधानी वीरेन्द्रनगरमा अशक्ततामैत्री पूर्वाधारको अभाव रहेको र सबै किसिमका अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सहायक सामग्रीहरू सहज उपलब्धता हुन नसकेको अपाङ्गता भएका व्यक्तिहरूले बताएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले अपाङ्गता भएका व्यक्तिहरू असमानता र गैर भेदभावमा पर्ने भएकाले भेदभाव उन्मूलन गर्न कानुनी सुरक्षणात्मक व्यवस्थाको पालना गर्नुपर्नेमा जोड दिनुभयो । अपाङ्गतामैत्री पूर्वाधार निर्माणमा नगरपालिकाले ध्यान दिनुपर्ने, १० बुँदे प्रतिविद्धताको कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।