• २२ असार २०८१, शनिबार

दश बुँदे घोषणापत्र जारी गर्दै नगर युवा सम्मेलन सकियो

blog

फाइल तस्बिर

राजविराज (सप्तरी), फागुन ५ गते । ‘समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा’ भन्ने नाराका साथ युवामैत्री नगरपालिका निर्माणका लागि १० बुँद घोषणापत्र जारी गर्दै सप्तरीको खडक नगरपालिकामा आयोजित नगरस्तरीय युवा सम्मेलन सम्पन्न भएको छ ।

राष्ट्रिय युवा परिषद सानोठिमीको समन्वय तथा नगर कार्यपालिकाको आयोजनामा जिल्लाको कल्याणपुरमा नगरस्तरीय युवा सम्मेलन सम्पन्न भएको हो । सो क्रममा नगरपालिकामा नवगठित नगरस्तरीय युवा सञ्जालले युवामैत्री नगरपालिका निर्माणका लागि नगरस्तरीय युवा सम्मेलनमा युवा क्लबका अध्यक्ष पल्हाद चौधरीले नगर प्रमुख जयप्रकाश चौधरीलाई घोषणापत्र हस्तान्तरण गर्नुभएको छ  ।

नगरपालिकाका १६ देखि ४० वर्षसम्मका युवाको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले नगरपालिकास्तरीय युवा परिषद गठन गर्ने, नगरपालिकास्थित सडकका अनाथ एवम् असहाय बालबालिकाको सुरक्षा, हकहित संरक्षण र भविष्य सुनिश्चित गर्न नगरस्तरीय बालगृह स्थापना गर्नुपर्ने, नगरपालिकाका युवालाई उद्यमी बनाउन युवा स्वयंसेवा गर्न प्रतिबद्ध रहेको हुँदा नगरस्तरीय उद्योग तथा व्यवसाय सञ्चालन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै घोषणापत्रमा युवामैत्री नगरपालिका बनाउन आवश्यक सूचकाङ्क पूरा गरी आव २०८०/८१ भित्र नगरपालिकालाई युवामैत्री घोषणा गरिनुपर्ने, नगरपालिकामा खेलकुद र मनोरञ्जन क्षेत्रलाई व्यवस्थित र थप प्रभावकारी बनाउन खेलमैत्री वातावरण, खेलमैदान, खेलकुद सामग्री र अनुभवी प्रशिक्षकको जगेर्ना गरिनुपर्ने, नगरपालिकाका युवा विद्यार्थीलाई आवश्यकता र प्राथमिकताअनुसार प्रशासनिक निकाय, निजामती सेवा तथा सरकारी कार्यालय व्यस्थापनतर्फ आकर्षित गर्न निःशुल्क लोक सेवा कक्षाको व्यवस्था गरिनुपर्ने, नगरपालिकाका किसानलाई प्राथमिकताअनुसार मलखाद, बीउ-बिजन, कृषि सामग्रीको उचित समयमा व्यस्थापन गर्दै आवश्यकताअनुसार सिँचाइको व्यवस्था गरिनुपर्ने, नगरपालिकाको माविस्तरको शिक्षालाई  गुणस्तरीय, व्यावसायिक एवं उद्यमशीलता मूलक बनाइनुपर्ने उल्लेख छ ।

यसैगरी, नगरपालिकामा विद्यालय अव्यवस्थित रहेका र ५० मिटरभित्रमा कुनै पनि किसिमको  सुर्तीजन्य पदार्थ, मादक पदार्थ, लागुऔषध किनमेल गर्न नपाइने घोषणपत्रमा उल्लेख छ । साथै नगरपालिकाका धुम्रपान एवम् लागुऔषध दुव्र्यसनीमा फसेका युवाका लागि सुधार केन्द्रको स्थापना गरिनुपर्नेमा जोड दिइएको छ । रासस