दमक (झापा), फागुन ५ गते । रोजगारीको सिलसिलामा हङकङ बस्दै आउनुभएका उर्लाबारीका युवाले गाउँमा एम्बुलेन्स उपलब्ध गराएका छन् । उर्लाबारी नगरपालिकालाई हङकङमा बसोबास गर्दै आएका परिवारले २५ लाख ५० हजार सङ्कलन गरी पठाएको रकमबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको वडा नम्बर ९ का अध्यक्ष नरबहादुर मोक्तानले बताउनुभयो ।
वडाध्यक्ष मोक्तानका अनुसार एम्बुलेन्स सेवा विपन्न परिवारलाई निःशुल्क प्रदान गरिने छ । नगरपालिकाले विपन्न परिवारसम्बन्धी कार्यविधि बनाइरहेको तथा त्यो तयार भएपछि विपन्न परिवार परिचयपत्र वितरण गरी त्यसका आधारमा सेवाग्राहीलाई निःशुल्क सेवा गरिने छ । एम्बुलेन्स खरिदका लागि हाल हङकङमा बस्दै आउनुभएका उर्लाबारी-९ का याम सेम्बुले एक्लैले पाँच लाख ३० हजार एक सय ७६ र अन्य दाताले थप रकम उपलब्ध गराउनुभएको हो । रासस