ताप्लेजुङ (गोरखापत्र), फागुन ५ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा माघमा मात्र २४ लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको भेटी रकम विवरण अनुसार माघमा कुल २४ लाख एक हजार पाँच सय रुपियाँ सङ्कलन भएको हो ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलित भेटी रकम जिल्लास्थित विभिन्न बैङ्कमा जम्मा गरिएको छ । यसअघि पुसमा ३५ लाख २९ हजार रुपियाँ भेटी सङ्कलन भएको थियो । समितिका अनुसार माघ मसान्तसम्ममा सङ्कलन कुल भेटी आठ करोड ९४ लाख ५४ हजार ४८ रुपियाँ भएको छ । पछिल्लो समय पाथीभरा क्षेत्र विकास समितिले प्रत्येक महिना भेटी रकम सार्वजनिक गर्दै आएको छ । पाथीभरामा नेपाली रुपियाँ मात्र नभई भारतीय रुपियाँसहित विभिन्न देशका मुद्रा भेटीबापत सङ्कलन हुँदै आएको समितिले जनाएको छ ।