काठमाडौं, फागुन ४ गते। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इतिहासको गुणगान गाउने र यथास्थितिमा रमाउने बानी परिवर्तन गर्नुपर्ने बताउनुभएको छ। कांग्रेस महासमिति बैठकका लागि बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले भन्नुभयो, ‘‘आफ्नो इतिहासको गुणगान मात्र गाउनु र यथास्थितिमै रमाउने बानी परिवर्तन गरौँ। सबै समस्यालाई मार्गचित्र सहित भरोसायुक्त समाधान दिने काम गरौँ। कतै हाम्रो असक्षमताका कारणले त निराशा बढिरहेको छैन ? यसबारे सूक्ष्म विश्लेषण गर्दै सक्षमताको खोजी गरौँ।’’
उहाँले नेपाली कांग्रेसका २९ वटा संसदीय निर्वाचन क्षेत्र र केही भ्रातृ तथा शुभेच्छुक संस्थाको प्रतिनिधित्व नहुने अवस्थालाई तुरुन्त टुङ्ग्याउन माग गर्नुभयो।
उहाँले पार्टीमा प्रस्तुत प्रतिवेदन र दस्ताबेजमा गठबन्धनको छाया परेको हो कि जस्तो देखिएको आशङ्का गर्नुभयो। महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्नेमा उहाँको जोड छ।
उहाँले बुँदागत रुपमै १६ बुँदामा धारणा राख्नुभएको हो। उहाँले भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो।
‘‘देशमा व्याप्त भ्रष्टाचार र आर्थिक अनुशासनहीनताले सुशासनलाई सुनिश्चित गर्न सकेको छैन। तसर्थ राज्यको विभिन्न अंगमा फैलिएको भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्नुपर्दछ’’, उहाँले भन्नुभयो।