गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १४ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस सेन्टर नेपालले आज स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।
सेन्टरको बबरमहलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा पत्रकारको साझा विषयवस्तुमा हातेमालो गरी अगाडि बढ्ने दुवै संस्थाका नेतृत्वले प्रतिवद्धता जनाउनुभएको छ ।
सेन्टरका अध्यक्ष कमल गिरीले समावेशी र पहिचानको मुद्दामा फोनिज र सेन्टर एक ठाउँमा रहेको बताउनुभयो । समावेशीता र पहिचानको मुद्दा सबैभन्दा बढी सेन्टरले उठाउँनेगरेको भन्दै उहाँले फोनिजको अभियानमा आफ्नो संगठनले हातेमालो गरी अघि बढ्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
पत्रकारको क्षमता बृद्धि, समाचारमा समावेशी विषयवस्तु, अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई पत्रकारिताको मूलधारमा ल्याउने विषयमा आफ्नो संगठन सहयोग गर्न सदैव तयार रहने उहाँले धारणा राख्नुभयो । पहिचान र समावेशीताको मुद्दामा विज्ञहरुसँग वहस गर्नेगरी फोनिजले आगामी दिनमा अघि बढ्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
फोनिजका संघीय अध्यक्ष लक्की चौधरीले पत्रकारलाई विकाउन र टिकाउन चुनौती रहेको अहिलेको अवस्थामा आदिबासी जनजाति पत्रकारको क्षमता बृद्धि र मातृभाषा पत्रकारिताको प्रवर्धनमा पत्रकारजन्य संघ संस्थाले सहयोग गर्नुपर्ने बताउनुभयो । मातृभाषा पत्रकारिता र पत्रकारको बृत्ति विकासमा सरकारको लगानी करिब शुन्यप्रायः रहेको भन्दै उहाँले सरकारले त्यसमा ध्यान दिनुपर्ने आग्रह गर्नुभयो ।
फोनिजको मुख्य ध्येय पत्रकारको व्यावसायिक तथा भौतिक सुरक्षाको विषय रहे पनि सँगसँगै पहिचान र समावेशीताको विषय केन्द्रमा राखेर फोनिजले काम गरिरहेको बताउनुभयो । आदिबासी जनजातिका मुद्दा सम्बोधन गर्नेखालका ऐन नियमहरु बन्न नसक्नु दुःखद भएको र त्यसका लागि सामुहिक प्रयासको खाँचो रहेको उहाँले चर्चा गर्नुभयो ।
सेन्टरका अध्यक्ष कमल गिरी, महासचिव मनोज घर्ती, उपमहासचिव बुद्ध लोप्चन लगायतले फोनिजका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत बधाई ज्ञापन गर्नुभयो ।