हुम्ला समाचारदाता
हुम्ला, वैशाख १५ गते । जिल्लामा सरकारी कार्यालयहरूद्वारा संयुक्त रूपमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम सेवाग्राहीबिनै सञ्चालन भएको छ । जसका लागि कार्यक्रम आयोजना गरिएको हो, उनीहरूको उपस्थिति नै नभएपछि यस्ता सार्वजनिक सुनुवाइ व्यर्थ हुने गरेका छन् ।
शनिबार दिउँसो १ बजेबाट आयोजना गर्ने पूर्वसूचना जारी गरिएको भए पनि आधा घण्टा ढिलो सुरु भएको थियो । कार्यक्रममा सेवाग्राहीको उपस्थिति गराउनकै लागि आधा घण्टा ढिलो गरिएको भए पनि पर्याप्त सहभागिता हुन नसकेको सामाजिक विकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले बताउनुभयो । कार्यालयहरूले सूचना जारी गरे पनि सेवाग्राहीको पर्याप्त उपस्थिति नभएको उहाँले जनाउनुभयो । पर्याप्त सेवाग्राही नआएपछि सरोकार राख्ने कार्यालयहरूले आआफ्नो प्रगति सार्वजनिक गरेका छन् ।
सेवाग्राहीको उपस्थितिबिनै आयोजना भएको कार्यक्रममा सेवाप्रदायक निकायहरूले हालसम्म कार्यालयले प्राप्त गरेको वित्तीय तथा भौतिक प्रगति प्रस्तुत गरेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा लक्षित वर्गको चासो नै नहुनु दुःखद भएको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बताउनुभयो । उहाँले जनताका लागि गरिएका गतिविधि जनताले थाहा पाउनका लागि कार्यक्रम आयोजना भएको तर एक जना पनि सेवाग्राही उपस्थित नहुनुले आगामी दिनमा सेवाग्राहीले चासो राख्ने कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो । सञ्चारकर्मी कार्यक्रममा नआएको भए कार्यक्रममाथि टीकाटिप्पणी गर्नेसम्म पनि कोही नहुने अवस्था रहेकामा आगामी दिनमा सञ्चालन प्रक्रिया परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।