सुर्खेत समाचारदाता
सुर्खेत, वैशाख १५ गते । कर्णाली प्रदेशका कुल ७१८ वडामध्ये आठ वटा वडा औलोको जोखिममा रहेका पाइएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीको हुम्ला जिल्लाका तीन वटा वडा उच्च र मुगु तथा सुर्खेतका पाँच वटा वडा मध्य जोखिममा छन् । औलोको उच्च जोखिममा हुम्लाको ताँजाकोट गाउँपालिकाका–२, ३ र ४ रहेका छन् । यस्तै मुगुको खत्याड गाउँपालिका–८, सोरु गाउँपालिका–४ र ५ तथा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ र गुर्भाकोट नगरपालिका–३ रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर श्यामलाल आचार्यले कर्णालीमा हुम्ला, मुगु र सुर्खेतका आठ वटा वडा औलोको जोखिममा रहेका बताउनुभयो । उहाँले हुम्लामा स्थानीय प्रजातिको औलो र अरू सबै बाहिरबाट आएको औलो भएको जनाउनुभयो । यहाँका ४१० वटा वडा न्यून जोखिममा छन् भने २९८ वटा वडामा अहिलेसम्म औलोको कुनै केस देखा नपरेको उहाँले बताउनुभयो ।
कर्णालीमा चालु आवमा ३८ वटा औलोका केस छन् । तिनमा ३७ वटा भारततिरबाट आएका हुन् भने एउटा स्थानीय प्रजातिको औलो भएको उहाँले बताउनुभयो । सन् २०३० भित्र नेपाललाई औलोमुक्त गराउने लक्ष्य पूरा गर्न औलो रणनीतिक योजना बनाएर काम थालिएको निर्देशनालयले जनाएको छ । सबै स्वास्थ्य संस्थामा औलो परीक्षण गर्ने व्यवस्था मिलाइएको, औलोको उपचार पद्धति बढाइएको, प्रत्येक पालिकामा परीक्षणका लागि माइक्रोस्कोपी सेन्टर बढाउने तथा पालिकाहरूले औलो मुक्त गराउने जस्ता काम यो अवधिमा गरिने छ ।
कर्णालीवासी कमाइ गर्न भारत जाँदा झुल लैजान पनि सुझाव दिने गरिएको छ । भारतबाट फर्केका कर्णालीवासीमा औलो देखिँदा सङ्ख्या बढेको भन्दै सुपरभाइजर आचार्यले आइसकेपछि तिनको परीक्षण गर्दा औलो देखिएमा उपचारमा संलग्न गराइएको बताउनुभयो ।