• १४ मंसिर २०८१, शुक्रबार

दुई महिनादेखि अँध्यारो

blog

बुटवल समाचारदाता

बुटवल, फागुन ३ गते । रुपन्देहीको ऐतिहासिक तथा धार्मिक स्थल मलमला मन्दिर यस क्षेत्रका हजारौँ भक्तजनको आस्थाको केन्द्र हो । मलमला मन्दिरमा दैनिक दर्जनौँ दर्शनार्थी पूजापाठका लागि पुग्ने गर्दछन् तर यही मन्दिरमा विगत दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । 

बस्तीदेखि टाढा र चुरे पहाडको माथि जङ्गलमा मन्दिर रहेकाले बिहान र साँझ दर्शन गर्न पुग्ने भक्तजनले विद्युत् नहुँदा असुरक्षित महसुस गर्नु परेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–६ मा रहेको मन्दिर क्षेत्रमा अवरुद्ध भएको बिजुली जोड्नेतर्फ मलमला एकीकृत सामुदायिक विकास केन्द्रले कुनै चासो दिएको छैन । उक्त क्षेत्रमा गत मङ्सिर २५ गते विद्युत् सर्ट भएयता बिजुली बलेको छैन । 

नाङ्गो तार सर्ट भएका कारण अवरुद्ध बनेको विद्युत् सेवा दुई महिना हुँदा पनि मर्मत गरेर जोड्नेतर्फ विद्युत् प्राधिकरणको ध्यान गएको छैन भने सैनामैना नगरपालिका, स्थानीय जनप्रतिनिधि र मलमला एकीकृत सामुदायिक विकास केन्द्रले पनि कुनै वास्ता गरेका छैनन् । मन्दिर व्यवस्थापनको जिम्मा रहेको मलमला एकीकृत सामुदायिक विकास केन्द्रका अध्यक्ष पदम पाण्डेले विद्युत् मर्मत गर्न एक लाख ५० हजार रुपियाँ खर्च लाग्ने र उक्त रकम केन्द्रसँग नरहेकाले सैनामैना नगरपालिकासँग सहयोग माग गरेको बताउनुभयो । उहाँले नगरपालिकाले सहयोगको आश्वासन दिए पनि अहिलेसम्म कुनै चासो नदिएको गुनासो गर्नुभयो ।  

स्थानीय मीना भण्डारीले पहिले साँझ बिहान बिजुली बलेर झकमक्क हुने मन्दिरमा विगत दुई महिनादेखि मन्दिर क्षेत्र अँध्यारो बनेको र आफूहरू असुरक्षित जस्तै भएको गुनासो गर्नुभयो । उता सैनामैना नगरपालिका–६ का वडाध्यक्ष गोपाल पोखरेलले वडामा तत्काल बजेट नभएको र विद्युत् प्राधिकरण मुर्गिया शाखासँग विद्युत् जडानका लागि आग्रह गरिएको बताउनुभयो । उता विद्युत् प्राधिकरण मुर्गियाका प्रमुख रामचन्द्र पोखरेलले सैनामैनाका विभिन्न स्थानमा पोलिङको काम भइरहेको र उक्त काम सम्पन्न भएपछि सो क्षेत्रमा कालो तार तान्ने र विद्युत् नियमित गर्ने बताउनुभयो ।