• २२ वैशाख २०८१, शनिबार

सम्पदाको संवेदनशीलता

blog

कुनै पनि मुलुकको समृद्धिको मापन त्यस मुलुकले गरेको भौतिक विकास मात्र होइन । त्यस मुलुकको भाषा, साहित्य, कला र संस्कृतिको महत्व भौतिक विकासभन्दा पनि अमूल्य मानिँदै आएको छ । मुलुकको विशिष्ट पहिचानको रूपमा रहने यस्ता कुरालाई विश्वको साझा निधिको रूपमा हेरिन्छ । मुलुकका यस किसिमका ऐतिहासिक सम्पदा पर्यटकीय दृष्टिले झनै बढी महìवपूर्ण हुने हुँदा पर्यटन उद्योगबाटै समृद्धि हासिल गरेका मुलुक धेरै छन् । नेपालमा विद्यमान सम्पदा पनि विश्वका सम्पदाहरूको तुलनामा कम महत्वका छैनन् । केवल प्रचारप्रसार र संरक्षणको कमीका कारण पर्यटकीय प्रवर्धन हुन सकिरहेको छैन ।

विश्वमा भइरहेका विशेष महत्व राख्ने प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरूको गरिमा कायम राख्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व सम्पदा सूची नै तयार पारेर सूचीकृत गर्दै आएको छ । नेपालमा भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चाँगुनारायण, पशुपतिनाथ, स्वयम्भूनाथ स्तूप र बौद्धनाथ महाचैत्य युनेस्कोमा सूचीकृत सम्पदा हुन् । यसै गरी हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र ऐतिहासिक सहरको रूपमा सूचीकृत छन् । अन्य दुई संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज पनि सूचीकृत सम्पदा हुन् । यसरी विभिन्न दस प्राकृतिक, ऐतिहासिक एवं सांस्कृतिक सम्पदा सूचीकृत हुनु मुलुकै गौरवको विषय बनेको छ । त्यसो त अझै थुप्रै सम्पदा सूचीकृत हुन योग्य नभएका होइनन् । कपिलवस्तुको प्राचीन शाक्य अधिराज्य तिलौराकोट र नवलपरासीको रामग्रामलाई सूचीकृत गराउने पहल गरिएको भए पनि आवश्यक प्रक्रिया पु¥याउन नसकेका कारण सूचीकृत हुन सकिरहेका छैनन् । जानकी मन्दिर, मुक्तिनाथ, नुवाकोट दरबारलगायतका विभिन्न १५ वटा ऐतिहासिक सम्पदालाई सूचीकृत गराउनेतर्फ पहल हुँदै गरेको बुझिए पनि आवश्यक पूर्वाधार पु¥याउन सकिएको देखिँदैन । 

अर्कोतर्फ सूचीकृत सम्पदाहरूको मौलिक स्वरूपलाई जोगाइ राख्न उचित संरक्षण तथा रेखदेखमा विशेष ध्यान दिन पनि उत्तिकै आवश्यक छ । युनेस्को अन्तर्गत रहने ‘हेरिटेज कमिटी’ ले हरेक वर्ष नयाँ थप गर्ने, खतराको सूचीमा राख्ने, सूचीबाटै हटाउने तथा खतराको सूचीबाट हटाउने जस्ता कार्य गर्छ । २०७२ सालको भूकम्पपछि युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका सम्पदालाई ‘खतराको सूची’ मा राख्ने चेतावनी दिँदै आएको स्मरणीय छ । युनेस्कोमा एक पटक सूचीकृत हुनु भनेको सधैँका लागि होइन, सम्पदाको मौलिकताको संरक्षण गर्नु अपरिहार्य हुन्छ भन्ने सन्देश उसले दिइरहेको स्पष्ट हुन्छ । यसै सन्दर्भमा, केही समययता चाँगुनारायण मन्दिरको मौलिकता संरक्षणमा सम्बन्धित निकायहरूले ध्यान नपु¥याउँदा आँच पुगेको समाचार प्रकाशित हुनुले सम्पदाप्रेमीहरूलाई दुःखित तुल्याएको छ ।

 ऐतिहासिक सम्पदाको संरक्षण कार्यका लागि तालुकवाला निकाय पुरातत्व विभाग र त्यस अन्तर्गतका अन्य कार्यालय, सम्पदा रहेको चाँगुनारायण नगरपालिका एवं मन्दिरका मूल पुजारीको समेत लापरबाहीका कारण युनेस्कोले खतराको सूचीमा राख्न सक्ने सम्भावना बढेको भन्दै पुरातìवविद्हरूले चिन्ता व्यक्त गर्नु मुलुककै लागि लाजमर्दो विषय बनेको हो । २०७२ सालको भूकम्पपछि जीर्णोद्धार गर्ने क्रममा लापरबाही गरिएको भनाइतर्फ सरकारको तत्काल ध्यान जान आवश्यक छ । प्यागोडा शैलीमा निर्मित नेपालकै सबैभन्दा पुरानोमध्येको मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्वसम्पदामा सूचीकृत गरेको हो । यसको निर्माण समय यकिन नभए पनि लिच्छविकालीन राजा हरिदत्त बर्मा र मानदेवसँग जोडिएको इतिहासमा उल्लेख पाइन्छ । 

संवत् ५२१ मा राजा मानदेवले मन्दिरमा गरुडको मूर्ति स्थापना गरेको शिलालेखमा उल्लेख हुनुले मूल मन्दिर यसभन्दा अगाडि नै बनिसकेको विदित हुन्छ । मन्दिरमा विष्णु भगवान्का विभिन्न स्वरूप विश्व रूप, विक्रान्त र नरसिंह आदिका मूर्ति प्रतिष्ठापित छन् । प्रस्तर, धातु र काष्ठकलाको अनुपम नमुना भएकोले सोही मौलिक स्वरूपमा संरक्षण गर्न विशेष ध्यान दिन आवश्यक भएको तर्फ पुरातात्त्विक   क्षेत्रका विज्ञहरूले आवाज उठाउँदै आएका छन् । विभिन्न समयमा जीर्णोद्धार गरिँदै आएको भए पनि भूकम्पले क्षति पु¥याएपछि मौलिक स्वरूपमै जीर्णोद्धार गरिनु अपरिहार्य थियो । त्यसतर्फ ध्यान नपु¥याइ आधुनिक सामग्री र प्राकृतिक रङको सट्टा एक्रेलिक रङ प्रयोग गरिएपछि एकले अर्कोलाई दोषी देखाएर आफू चोखो देखिने प्रवृत्ति अङ्गीकार गरेको अनुभूत हुन्छ । मुलुकको पहिचान बनेका गरिमापूर्ण सम्पदाको महत्व र संवेदनशीलता मनन गरी संरक्षणमा सरकार तथा सरोकार निकायले विशेष ध्यान दिन वाञ्छनीय देखिन्छ ।