• १६ वैशाख २०८१, आइतबार

बदलियो नेपालीको खर्च शैली

blog

काठमाडौँ, फागुन ३ गते । आम्दानीको अधिकांश हिस्सा खाद्यान्नमा खर्च गर्ने नेपालीको शैलीमा परिवर्तन देखिएको छ । विगतमा आम्दानीको दुई तिहाइसम्म खाद्यान्न खरिदमा खर्च गर्ने प्रवृत्ति बिस्तारै लामो समय टिक्ने गैरखाद्य वस्तुको खरिदतर्फ मोडिएको पाइएको हो । 

हालै सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षणमा विगत एक दशकको अन्तरमा खर्च खाद्यान्न र गैरखाद्यान्नमा नेपालीले करिब आधा आधा खर्च गर्ने तथ्य सार्वजनिक भएको हो । सर्वेक्षण अनुसार सन् २०११ मा कुल खर्चको ६२ प्रतिशत खाद्यान्नमा खर्च गर्ने नेपालीले सन् २०२२ सम्म आइपुग्दा त्यस्तो खर्च घटाएर ५३ प्रतिशतमा सीमित गरेका छन् । गैरखाद्यान्नमा सन् २०११ मा ३८ प्रतिशत खर्च गर्ने नेपालीले सन् २०२२ सम्म बढाएर ४७ प्रतिशत पुर्‍याएका छन् । 

समीक्षा अवधिमा नेपालीले खाद्यान्नमा गर्ने खर्चको शैली पनि फेरिएको पाइएको छ । पछिल्लो समय नेपालीले खाद्यान्नमा पनि अधिक क्यालोरी भएका पौष्टिक खाद्यमा बढी खर्च गर्न थालेको देखिएको छ । उदाहरणका लागि कुल खाद्यान्नमध्ये सन् २०११ मा तीन प्रतिशत हिस्सा फलफूलको हुनेमा सन् २०२२ मा फलफूलको हिस्सा बढेर सात प्रतिशत पुगेको छ । त्यस्तै तरकारीको अंश १० प्रतिशतबाट बढेर १२ प्रतिशत पुगेको छ । नेपालीले मासुमा गर्ने खर्च पनि बढेको छ । खाद्यान्नको कुल खर्चमध्ये १४ प्रतिशत मासुमा हुने गरेको पाइन्छ, जुन २०११ मा १३ प्रतिशत थियो । 

खाद्यान्नमा गर्ने खर्चको शैली हेर्दा नेपालीले अनाजतर्फको खर्च घटाएर फलफूल, तरकारी र माछामासुतर्फ बढाएको सर्वेक्षणले देखाउँछ । सन् २०११ मा ३४ प्रतिशत खर्च अनाजमा गर्ने प्रवृत्ति बदलिएर १७ प्रतिशतमा पुगेको छ । यस हिसाबले अनाजमा गर्ने खर्च आधा घटाएको देखिन्छ । 

गैरखाद्यान्नतर्फ नेपालीको खर्च बढ्नुको मुख्य कारण भने भाडा, यातायातका साधन र सूचना प्रविधिको बढ्दो उपयोग देखिन्छ । त्यस्तै पछिल्लो समय नेपालीको ध्यान टिकाउ वस्तुको खरिदतर्फ गएको पनि सर्वेक्षणले देखाउँछ । नेपालीले आफ्नो कुल खर्चको पाँच प्रतिशत त्यस्ता टिकाउ वस्तुको खरिदका लागि गरेको तथ्याङ्कले देखाउँछ जुन सन् २०११ मा तीन प्रतिशत थियो । त्यस्तै भाडामा नेपालीले गर्ने खर्च कुल खर्चको नौ प्रतिशतबाट बढेर १२ प्रतिशत पुगेको छ । कम टिकाउका गैरखाद्यान्नमा हुने खर्च पनि समीक्षा अवधिमा बढेको देखिन्छ । सन् २०११ मा यस्ता वस्तुले नेपालीको कुल खर्चको २५ प्रतिशत हिस्सा ओगटेकोमा त्यस्तो हिस्सा बढेर ३१ प्रतिशत पुगेको देखिन्छ । 

गैरखाद्यतर्फ टिकाउ वस्तु खरिद गर्ने शैलीमा व्यापक परिवर्तन देखिएको छ । समीक्षा अवधिमा कार, कम्प्युटर, मोटरसाइकल, रेफ्रिजेरेटर, पङ्खा र मोबाइलको स्वामित्व बढेको देखिन्छ । सर्वेक्षण अनुसार सन् २०११ मा ०.८२ घरपरिवारसँग कारको स्वामित्व रहेकोमा सन् २०२२ मा त्यस्तो स्वामित्व बढेर १.८५ प्रतिशत पुगेको छ । त्यस्तै ८.७७ प्रतिशत नेपाली घरपरिवारसँग कम्प्युटरको स्वामित्व रहेको पाइएको छ जुन त्यसअघि ६.०३ प्रतिशत थियो । यसबिचमा मोटरसाइकल प्रयोग गर्नेको सङ्ख्या उल्लेख्य बढेको छ । अहिले करिब २५ प्रतिशत घरपरिवारसँग मोटरसाइकल रहेको छ जुन १२ वर्षअघि ९.१८ प्रतिशत घरपरिवारमा सीमित थियो । 

रेफ्रिजेरेटर प्रयोग गर्ने घरपरिवारको सङ्ख्या पनि ८.६१ प्रतिशतबाट बढेर २६.८९ प्रतिशत पुगेको छ । पङ्खाको प्रयोग पनि उल्लेख्य रूपमा बढेको छ । अहिले करिब ६१ प्रतिशत घरपरिवारले पङ्खाको प्रयोग गर्ने पाइएको छ । सन् २०११ मा पङ्खा प्रयोग गर्ने घरपरिवारको सङ्ख्या ३४ प्रतिशत मात्र थियो । दूरसञ्चार सेवाको पहुँच बढ्दा मोबाइल प्रयोग गर्ने घरपरिवारको सङ्ख्या ९३.५५ प्रतिशत पुगेको छ । 

खाद्य सचेतना बढ्दै जाँदा नेपालीको खर्च शैलीमा पनि परिवर्तन देखिँदै गएको सर्वेक्षण प्रकाशन गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा. हेमराज रेग्मी बताउनुहुन्छ । “उच्च क्यालोरीयुक्त खानपान र बढ्दो आम्दानीका कारण गैरखाद्य वस्तु खरिद गर्न सक्ने सामथ्र्य बढ्दा खर्च गर्ने शैलीमा रूपान्तरण देखिएको हो,” उहाँले भन्नुभयो । सन् २०११ को तुलनामा सर्वेक्षणका लागि संलग्न गरिएका खाद्यवस्तुको सङ्ख्या (डालो) बढाउँदा पनि खर्च शैलीमा भिन्नता पाइएको उहाँको भनाइ छ । सर्वेक्षणमा यस पटक ७७ वटा खाद्यवस्तु समेटिएको छ जुन यसअघि ४० मात्र थियो ।