काठमाडौँ, फागुन २ गते। पश्चिमी वायुको आंशिक प्रभावले अहिले देशभर मौसम बदली भएको छ। अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा अहिले घाम लागेको छैन। मौसम बदली भए पनि वर्षा भने भएको छैन।
महाशाखाको मौसम बुलेलिटनअनुसार बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
रातिको समयमा पनि कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।