उर्लाबारी समाचारदाता
उर्लाबारी, फागुन २ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीदेखि नेपाल–भारतको दसगजा क्षेत्रलाई जोड्ने उर्लाबारी–आमबारी–गाईघाट– सिजुवा–भद्रचोक सडक जिल्लाको सबैभन्दा पुरानो सडक मानिन्छ । नेपाल–भारत सीमाको ३८ नं. पिल्लर हुँदै भारतको डोरियासँग जोड्ने यो सडक निर्माण कथा जस्तै बनिसकेको छ ।
पञ्चायतकाल, बहुदल हुँदै गणतन्त्रका डेढ दशक बितिसक्दा पनि सडक बन्न सकेको छैन । नेपाली कांग्रेस सरकारमा रहँदा जिपी राजमार्गका रूपमा सडक विस्तार गर्ने योजना बन्यो । कांग्रेस सरकारबाट हटेपछि सोही सडकको नाम फेरिएर मदन भण्डारी राजमार्ग बन्यो । नाम फेरिएपछि काम हुनेमा स्थानीय आशावादी थिए तर निर्माणको काम भने कछुवाको गतिमा अगाडि बढिरहेको छ ।
यो सडकले खासगरी मोरङको सबैभन्दा पूर्वी क्षेत्रका गाउँलाई छुन्छ । उत्तरमा उर्लाबारी नगरपालिकाभित्र १२ किलोमिटर र दक्षिणतर्फ रतुवामाई नगरपालिकाभित्र १७ किलोमिटर गरी यो सडक कुल २९ किलोमिटर लम्बाइको छ । उर्लाबारी क्षेत्रमा सङ्घीय सरकारको तराई मधेश समृद्धि आयोजना, सङ्घीय सहरी विकास आयोजना, कोशी प्रदेश सरकारको प्रदेश सहरी विकास आयोजना र प्रदेश पूर्वाधारको बेग्लाबेग्लै आयोजनाबाट कालोपत्रेको काम भइरहेको छ ।
एउटै सडकमा सङ्घ र प्रदेश सरकारका विभिन्न निकायले काम गर्दा प्राविधिक रूपमा समस्या आइरहन्छन् तर टुक्रा टुक्रा गरेर भए पनि निर्माणाधीन सडक सम्पन्न गर्नुपर्ने भएकाले सबै आयोजनामा उर्लाबारी नगरपालिकाले सहकार्य गरिरहेको छ ।
उर्लाबारी–९ का वडाध्यक्ष नरबहादर मोक्तानले भन्नुभयो, “उर्लाबारी–बरडङ्गा सडकभन्दा २० वर्ष पुरानो सडक भर्खर निर्माण सुरु भएको छ ।” उर्लाबारी खण्डमा १२ किमीमध्ये साढे तीन किमी सडक निर्माणका लागि अझै बजेटको सुनिश्चित भएको छैन । वडाध्यक्ष मोक्तानका अनुसार तराई मधेश सडक समृद्धिको ५० लाख रुपियाँमा चार सय मिटर, सङ्घीय सहरी विकास आयोजनाको एक करोड रुपियाँमा ६२५ मिटर, प्रदेश पूर्वाधारको दुई करोड रुपियाँबाट एक हजार १६२ मिटर सडक कालोपत्रे भइरहेको छ ।
पाँच वर्षअघि निर्माण सुरु भएको कालोपत्रे प्रारम्भिक चरणमा गरेको कालोपत्रे भत्किन थालेको छ तर सडक पूर्ण रूपमा बन्ने कुनै योजना छैन । मोरङ १ (क) का कोशी प्रदेश सदस्य उमाकान्त गौतमले भन्नुभयो, “चालु आवमा तीन किलोमिटर कालोपत्रे गर्ने गरी प्रदेश र सङ्घीय सरकारले एक करोड रुपियाँ विनियोजन गरेको छ । बजेटको सुनिश्चित भएर यो काम अगाडि बढेको हो । काम सम्पन्न भएपछि उर्लाबारी खण्डको तीन किमी मात्र कालोपत्रे गर्न बाँकी रहने छ । उहाँले यो वर्ष थक्लुङ चोकसम्म कालोपत्रे हुने बताउनुभयो ।
रतुवामाई खण्डका सडक किनारका उपभोक्ताले धुलो र हिलो भोग्न थालेको ६० वर्ष हुन लाग्यो । सडकको नाम फेरियो । सडक विस्तारका लागि स्थानीयले ३० फिटको बाटोलाई ५० फिट बनाउनका लागि मुआब्जा नलिई जग्गा दिए । हरेक चुनावमा ठुला दलको एजेन्डा बन्छ सडक कालोपत्रे गर्ने । २०४८ को निर्वाचनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालादेखि हालका सांसद ऋषिकेश पोख्रेलसम्मले सडक विस्तारको आश्वासन दिनुभयो तर सडकको अवस्था उस्तै छ ।
रतुवामाई नगरपालिकाका प्रवक्ता भुलबहादुर कार्कीले भन्नुभयो, “सडक विस्तारका लागि सर्भे गर्न ९० लाख रुपियाँ विनियोजन भएको छ तर काम सुरु भएको छैन । स्थानीय स्रोतले गर्न सकिने योजना होइन । त्यसैले हामीले सङ्घ र प्रदेशलाई गुहार्नेबाहेक विकल्प छैन । ३० फिटको सडक फराकिलो बनाउन स्थानीयले दुवैतर्फ १०/१० फिट जग्गा पनि दिए तर सरकारले कुनै महìव दिएन ।
रतुवामाई–१०, सातमेडिका ७७ वर्षीय भीमप्रसाद पोख्रेललाई सडक कालोपत्रे हुन्छ भन्ने विश्वास लाग्न छोडेको छ । उहाँले भन्नुभयो, “२०२६ सालयता हरेक वर्ष कहिले दूरबिनले त कहिले फित्ताले सडक नाप्छन् । कहिलेकाहीँ डोजर घुमाउँछन् तर काम गर्दैनन् ।” रतुवामाई–७, सिन्जुवाका ७४ वर्षीय टीकाधारी साहले पछि ट्र्याक खुलेका सडक कालोपत्रे भए पनि जिल्लाकै पुरानो सडक कालोपत्रे हुन नसकेको बताउनुभयो ।