• १२ साउन २०८१, शनिबार

आइचरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

blog

केदार तिमल्सिना
बनेपा, फागुन १ गते  । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ अन्तर्गत अरनिको राजमार्गको ५० किलोमा सवारी साधन एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार दोलालघाटबाट पाँचखालतर्फ आउँदै गरेको बा. प्र. ०२–०३४ प ३३२१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पाँचखालबाट दोलालघाटतर्फ जाँदै गरेको बा ३ ख ७२०४ नम्बरको आइचर गाडीमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–७ का अन्दाजी २८ वर्षीय मुरारी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएका कार्कीको उपचारको क्रममा धुलिखेल अस्पतालले ४ः१८ मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवारी सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–७ का अन्दाजी २८ वर्षीय राजन दङ्गाल घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । घाइते दङ्गालको दाहिने हात, खुट्टा र नाकमा चोट रहेको र उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र आइचर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।