• १२ साउन २०८१, शनिबार

युरोपियन युनियनको सहयोगमा नेपालगन्जमा ग्रीन सिफ्ट परियोजना सञ्चालन

blog

परियोजना सञ्चालनका लागि सम्झौता आदानप्रदान गरिंदै।तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन १ गते। युरोपियन युनियनको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले उपमहानगरमा ग्रीन सिफ्ट परियोजना सञ्चालन गर्ने सम्झौता गरेको छ।

चार वर्षसम्म सञ्चालन गरिने सो परियोजनाले फोहोर संकलन गर्ने उद्योग, सफाइकर्मीको संस्था, युवा, विद्यालयका बालबालिकासँग मिलेर काम गर्ने नेपालगन्जका मेयर प्रशान्त विष्टले बताउनुभयो।

उहाँले यो परियोजनाले सरसफाइ क्षेत्रमा आबद्ध उद्यमीको क्षमता निर्माण गर्न उनीहरूको प्लास्टिक फोहोर संकलन क्षमता अभिवृद्धि गर्ने; प्लास्टिक वैकल्पिक उत्पादन र प्याकेजिङको प्रवर्द्धनको लागि साना तथा मझौला उद्योगलाई समर्थन गर्ने, ज्ञान र चेतना अभिवृद्धि गर्न विद्यार्थीसँग काम गर्ने; युवालाई पैरवी र सचेतना अभियानमा संलग्न गराउने लगायतका काम गर्ने बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डि.सीले परियोजनाले विद्यार्थी र शिक्षक दुवैको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकासहित ग्रिनसिफ्ट नेपाल परियोजनाले बागमती, लुम्बिनी र मधेश प्रदेशका जम्मा ९ वटा पालिकामा परियोजना सञ्चालन गरिरहेको छ।

नेपालको सन् २०४५ सम्ममा नेट शून्य उत्सर्जन हासिल गर्ने  प्रतिबद्धतालाई यस परियोजनाले प्रवर्धन गर्ने जनाइएको छ।यसले सन् २०३० सम्ममा १०० नगरपालिकामा फोहोर छुट्याउने र फोहोरबाट ऊर्जा बनाउन पहल गर्ने प्रतिबद्धता राखेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ।