• १२ साउन २०८१, शनिबार

ट्राफिक व्यवस्थापनका लागि त्रिपक्षीय सहकार्य

blog

एकतर्फी पार्किङ कायम गरिएको नेपालगञ्जको घरबारी टोल सडक । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, फागुन १ गते । नेपालगञ्ज उप-महानगरपालिकाभित्र ट्राफिक व्यवस्थापनका लागि स्थानीय तह, प्रहरी र उद्योग वाणिज्य सङ्घ मिलेर सामूहिक पहल अघि बढाएका छन्। 

नेपालगञ्ज सहरलाई सुन्दर र व्यवस्थित बनाउँदै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान अन्तर्गत सम्पूर्ण नगरवासीको साथ र सहयोग लिइएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । 

ट्राफिक व्यवस्थापनका लागि पहिलो चरणमा धम्बोझी चोकस्थित बागेश्वरी मन्दिर जाने प्रवेशद्वार (घरबारी टोल) देखि त्रिवेणी मोडसम्म ’एकतर्फी पार्किङ’ कायम गरिएको छ । जसमा आइतबार, सोमबार र मङ्गलबार दायाँ तथा बुधबार, बिहीबार र शुक्रवार बायाँतर्फ मात्र पार्किङ गर्न दिइएको छ । 

नगरप्रमुख विष्टले भन्नुभयो, "साँघुरो सडकको दुबैतर्फ पार्किङ गरी राख्दा सवारी आवागमनमा समस्या परेपछि अहिले एकतर्फी पार्किङ राखिएको छ ।" यो अभियानमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र नेपालगञ्ज नगर प्रहरी परिचालन गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले समेत सहकार्य गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रवीण आचार्यले ट्राफिक व्यवस्थापनका लागि विभिन्न निर्णय गरी कार्यान्वयन गरिएको जानकारी दिनुभयो। ट्राफिक व्यवस्थापनका लागि ई–रिक्सा व्यवस्थापनको काम जारी छ ।

नियम विपरीत सञ्चालन हुने ई–रिक्सा दिनहुँ नियन्त्रणमा लिने क्रम चलिरहेको ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रवीण आचार्यले बताउनुभयो । इन्चार्ज आचार्यले भन्नुभयो, "धम्बोझीलगायतका मुख्य चोकमा हुँदै आएको ई–रिक्साको भिडभाड हटाइएको छ, एकतर्फी पार्किङ पूर्ण कार्यान्वयनका लागि लागिपरेका छौं ।"

नेपालगञ्जमा ट्राफिक बत्तीसमेत सञ्चालन हुन लागेकाले ट्राफिक प्रहरीले पैदलयात्री र चालकका के गर्ने के नगर्ने विषयमा चेतनामूलक कार्यक्रम गरिरहेको छ । ट्राफिक बत्ती र जेब्राक्रसिङका सम्बन्धमा सामुदायिक प्रहरीसँग सहकार्य गरिएको छ । कागजपत्र नभएका अटो नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि दायँतर्फका यात्रु बसाउन र झार्न रोक्नका लागि फलामको बारसमेत अनिवार्य गरेको छ ।