• १२ साउन २०८१, शनिबार

चक्रपथ निर्माण सुस्त

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी,फागुन गते । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा निर्माण थालिएको चक्रपथको निर्माण गति सुस्त बनेको छ । सडक डिभिजन कार्यालय खुर्कोट अन्तर्गत सदरमुकामको माझीटार–पानीट्याङ्की–नुनथला–मल्लागाउँ हुँदै हिरापानीसम्मको आठ किलोमिटर लम्बाइको चक्रपथ निर्माण कार्य सुस्त भएको हो । सडक डिभिजन कार्यालय खुर्कोटका इन्जिनियर सन्देशराज ढुङ्गेलका अनुसार दुई वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी १८ करोड रुपियाँ लागतमा कालिका–बेदान्सी–विकास जेभीले २०७९ सालमा नै ठेक्का सम्झौता गरी काम सुरु गरेको हो । सो कम्पनीले २०८१ सालको असारसम्म काम सक्नु पर्छ । तीन वटा कम्पनीले संयुक्त रूपमा ठेक्का सम्झौता गरेका छन् तर अहिलेसम्म कामको प्रगति करिब १५ प्रतिशत मात्रै छ । निर्माण कार्य सुस्त छ । कार्यालयले निर्माण कम्पनीलाई काम छिटो गर्न ताकिता गरिरहेको उहाँको भनाइ छ ।

उहाँले कार्यालयले निर्माण कम्पनीलाई आफूले गर्नुपर्ने आफ्नो कारबाही सबै गरिरहेको बताउनुभयो । पर्याप्त बजेटको व्यवस्थापन नहुँदा पनि काममा ढिलाइ भएको कार्यालयले जनाएको छ । आठ किलोमिटर लम्बाइको उक्त रिङरोड कालिका–बेदान्सी–विकास जेभीले १८ करोड रुपियाँमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरी काम सुरु गरेको इन्जिनियर ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई लेनमा निर्माण हुने रिङरोडको चौडाइ साढे सात मिटर हुने छ । त्यसमा कालोपत्रे भने साढे पाँच मिटरको रहने छ । कमलामाई नगरपालिका–४, मल्लागाउँका डम्बरबहादुर कार्कीले उक्त चक्रपथको निर्माण गति हेर्दा बन्छ कि बन्दैन जस्तो अवस्थामा रहेको बताउनुभयो । 

उक्त चक्रपथले कमलामाई नगरपालिका–४, ५ र ७ को भित्री बस्तीलाई समेट्ने छ । माझीटार–चकमके सडक अन्तर्गत माझीटारबाट निर्माण सुरु गरिएको उक्त चव्रmपथ हिरापानीमा आएर बिपी राजमार्गमा जोडिने छ । 

कालिका–बेदान्सी–विकास जेभीका सञ्चालक मन्त्रु साहका अनुसार बजेट अभाव, जग्गा विवाद, स्थानीय केही व्यक्तिले आफैँ काम गर्न गरेको अवरोध र रिङरोडमा पर्ने रुख काट्ने समस्याले निर्माणमा केही समस्या परेको हो । यस वर्ष एक करोड रुपियाँ मात्रै बजेट आएको र त्यही अनुसार काम गर्नूस् भनेर कार्यालयले भनेकाले छोटो दुरीमा यस पटक काम हुने बताइन्छ । 

फिल्डमा काम गर्न खटिएका कामदार र मिस्त्रीलाई स्थानीय केही व्यक्ति आफैँले काम गर्न पाउनु पर्छ भन्दै काम गर्न नदिएर शरीरमा जुठो पानीसमेत छ्यापिदिएको बताइन्छ । 

निर्माण व्यवसायी साहका अनुसार काममा स्थानीयबाट अवरोधसमेत भएको छ । स्थानीयलाई ३५ लाख रुपियाँ जतिको कामको पेटीठेक्का पनि दिइएको छ । उहाँले भन्नुभयो, “शान्तिसुरक्षा पाऊँ भनेर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सडक डिभिजन कार्यालयमा समेत निवेदन दिएको छु । शान्तिसुरक्षा माग्दा पनि कतैबाट पाएको छैन ।”