छिन्चु समाचारदाता
सुर्खेत, फागुन १ गते । सुर्खेतको पूर्वीउत्तर क्षेत्रको चिङ्गाड गाउँपालिकाको केन्द्र विवाद नसुल्झँदा सेवाग्राहीले दुःख भोग्दै आएका छन् । दैलेख र जाजरकोटसँग सीमा जोडिएको चिङ्गाड गाउँपालिका दुर्गम क्षेत्रमा पर्छ ।
भौगोलिक विकटता र घरबस्ती टाढा टाढा हुँदा पालिकाको बजेटले सडक, बिजुली जस्ता विकासका पूर्वाधार निर्माण सम्भव छैन । त्यसमा पनि पालिकाको केन्द्र विवाद छ वर्षसम्म पनि टुङ्गिन सकेको छैन ।
केन्द्र विवाद नटुङ्गिँदा पालिकाभित्रको भौतिक पूर्वाधार निर्माणदेखि सार्वजनिक सेवा प्रवाहमा समस्या भइरहेको छ । राजनीतिक दलका नेताको आआफ्ना स्वार्थका कारण चिङ्गाड पालिका केन्द्रविहीन भएको स्थानीयवासी बताउँछन् । पालिका केन्द्रको टुङ्गो लाग्न नसक्दा अवलचिङ्गबाट सेवा लिन सेवाग्राहीलाई दिनभरि हिँड्नुपर्ने बाध्यता छ । पालिका केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुगेपछि कहिले टुङ्गिने भन्ने अन्योलले थप समस्या उत्पन्न भएको गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले बताउनुभयो ।
उहाँले पालिकाको केन्द्र तोकिए पनि सर्वोच्चमा मुद्दा परेकाले फैसलामा ढिलाइ हुँदा नागरिकमा जनप्रतिनिधिमाथि असन्तोष बढ्दै गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मभन्दा पहिले बनेको गाउँपालिका सरकार नेपाली कांग्रेसको एकल बहुमतको थियो । गाउँपालिकाको केन्द्र कहाँ बनाउने भन्ने निर्णय नै उसले गर्न सकेन ।” उहाँका अनुसार यसका बिच विकास निर्माणमा सकारात्मक सोचका साथ त्यस बेला हामी प्रतिपक्ष हुँदाहुँदै पनि गाउँपालिकाको केन्द्र तोक्न दुई तिहाइ बहुमत पु¥याउन सहयोग गरियो । त्यस बेला गाउँपालिका केन्द्रका लागि मेरै नेतृत्वमा चन्दा उठाएर नौ रोपनी जग्गा पनि खरिद गरियो ।
उहाँले दुई तिहाइ बहुमतले पालिकाको केन्द्र सार्ने निर्णय हुँदाहुँदै पनि तत्कालीन अध्यक्ष देवबहादुर चन्दको मनसाय पालिका केन्द्र बनाउने नहुँदा कामले गति लिन नसकेको बताउनुभयो । उहाँका अनुसार निवर्तमान उपाध्यक्ष मनमाया आचार्यले अरू मान्छे लगाएर उच्च अदालत सुर्खेतमा मुद्दा हालेपछि फैसला ढिलाइले थप समस्या भइरहेको थियो । उहाँले भन्नुभयो, “पुनरावेदनबाट फैसला हुँदा पनि पालिका केन्द्र बनाउने र सार्ने काम भएन । अन्त्यमा निवर्तमान उपाध्यक्ष आचार्यलगायतको टिमले सर्वोच्च अदालतमा मुद्दा हाल्यो ।”
उहाँका अनुसार अदालतले कुनै पनि कामकाज अघि नबढाउनू भन्ने आदेश दिँदा अहिलेसम्म काम रोकिएको हो । उहाँले अघिल्लो गाउँपालिका सरकारका दुवै जना एउटै पार्टी नेपाली कांग्रेसबाटै निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुँदाहुँदै पनि आपसी विवादका कारण गाउँपालिकाको केन्द्र तोक्नेदेखि भवन निर्माणको काम अलपत्र परेको जानकारी दिनुभयो ।
अदालतले छिटोभन्दा छिटो मुद्दाको किनारा लगाइदिएको भए जनतालाई सहज हुने उनको विश्वास छ । अन्यथा, मुद्दा दायर गर्ने पक्षले मुद्दा झिकिदिएमा केन्द्र तोक्ने र प्रशासनिक भवन निर्माण कार्य अघि बढ्ने त्यहाँका कानुनी जानकार बताउँछन् । अहिले पालिका केन्द्र नहुँदा दह, च्यारकुले, पाखापानी, गोगने, लावन रजेना, काउले कोटिला, पारीलेख रहकुल, बाटासाल, डाँडाखर्क, काँडा पोखरी पुङ, काँडा घुओनी, अवल घुओनी, पाइले वडा काँडा धनपानी, देउला सिंहला, मटेला जोगाडा, चद्रर्के, पाम्का, टोट्का र पुडे सिमीलगायत गाउँका नागरिकलाई समस्या भइरहेको छ ।
चिङ्गाग–३, टुलेका चिमानबहादुर रानाले पालिका बनेको छ वर्षसम्म केन्द्रको टुङ्गो नलाग्नु दुःखको कुरा भएको बताउनुभयो । उहाँले सुरुवाती वर्षदेखि पालिकाको केन्द्र तोक्ने कार्यमा दलबिच भएको विवाद अहिलेसम्म पनि समाधान नहुँदा आफूहरूले दुःख पाइरहेको गुनासो गर्नुभयो ।
गाउँ सभाको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्तावमा अदालतको फैसला ढिलाइले नागरिकसँगै पालिकालाई सेवा प्रवाह गर्न समस्या भइरहेको बताइन्छ । पालिका केन्द्रका लागि पर्याप्त भौतिक पूर्वाधार, भौगोलिक र प्रशासनिक सुगमता, यातायात सञ्चार सुविधाका आधारमा चिङ्गाडको ‘ढाँडखेत’ उपयुक्त स्थान हो । पालिकाको वडा नम्बर २ स्थित ‘ढाँडखेत’ केन्द्रबिन्दु बनाउन बहुसङ्ख्यक नागरिक जोडतोडले लागे पनि अदालतको विचराधीन मुद्दा फैसलामा भइरहेको ढिलाइले विवाद समाधान हुन सकिरहेको अवस्था छैन । पालिकाको केन्द्रका विषयमा अदालतमा मुद्दा चलिरहेकाले अदालतले नटुङ्ग्याएसम्म अन्य कुनै प्रक्रिया अघि नबढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समीक्षा सोमैले बताउनुभयो ।