• १३ वैशाख २०८२, शनिबार

कोरोला नाकामा सीमा अपराध रोक्न संयुक्त गस्ती

blog

मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ मा अवस्थित कोराला नाकामा नेपाल प्रहरी, शसस्त्र प्रहरी र चिनियाँ प्रहरीले संयुक्त गस्ती गर्दै । तस्बिरः जिल्ला प्रहरी कार्यालय मुस्ताङ

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), वैशाख १३ गते । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ मा पर्ने कोरोला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र चिनियाँ प्रहरीले शुक्रबार संयुक्त गस्ती गरेका छन् ।

कोराला नाका सञ्चालनमा आएपछि सीमा क्षेत्रमा हुनसक्ने चोरी निकासी कम गर्न, नाकामा देखिएका समस्या बारेमा एकआपसमा छलफलका साथै कोरलास्थित २४ नम्बर पिल्लरदेखि पश्चिम २३ नम्बर पिलर क्षेत्रको अवस्था बारेमा बुझ्न गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी विशाल अधिकारीले बताउनुभयो । 

प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो, ‘‘आवश्यकताअनुसार दुवै देशको सीमामा रहेका प्रहरीले संयुक्त पैदल गस्ती हुन्छ, यस्तो गस्ती नियमित हुँदैन ।’’ दुबै देशका सुरक्षाकर्मीको संयुक्त गस्ती र पेट्रोलिङपछि सीमा क्षेत्रको अवस्थाबारे पनि थाहा हुने र आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सहयोग पुग्ने प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । 

गस्तीमा नेपालको तर्फबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत इलाका प्रहरी कार्यालय लेमान्थाङ, सशस्त्र प्रहरी बलको (बिओपी) र चीनतर्फ सीमास्थित लिजि प्रहरी कार्यालयका कार्यालयबाट खटिएको टोली रहेको छ । 

चीनको स्वशासित तिब्बतसँग १८–३३ सम्म १६ वटा सीमा स्तम्भले १३४.१६ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ भने कोरला नाका रहेको २४ नम्बर सीमा स्तम्भ समुन्द्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि कोराला नाका आवत–जावतमा कडाइ गरिएको थियो । गतबर्ष नाका सहज रूपले नखुल्दासम्म अन्तरदेशीय व्यापार मेलामार्फत सामान खरिद गर्ने गरिएको थियो ।