प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख १३ गते । सल्यानको बनगाडकुपिण्डे नगरपालिका–१२, निगालचुलाका किसानले लगाएको आलुमा पुतली किराको प्रकोप देखापरेको छ । ६८ घरपरिवारले करिब साढे १७ हेक्टर क्षेत्रफलमा लगाइएको आलु खेतीमा पुतली किराको प्रकोप देखा परेका हो । वर्षे आलुमा पुतली किरा टुवर मोथको प्रकोप देखिएपछि यहाँका किसान समस्यामा परेका छन् ।
निगालचुलाका किसान जीत बहादुर वलीले आलु रोप्ने समयमा पानी नपरेको र अहिले किराको समस्या देखिदा उत्पादन घट्ने बताउनुभयो । उहाँका अनुसार तीन सय ४० रोपनीमा लगाएको आलु खेतीमा रोग किरा देखिएपछि किसानहरु चिन्तित भएका छन् ।
बनगाड कुपिण्डे नगरपालिकाका कृषि विकास शाखा प्रमुख नारायण बेलवासेले भण्डारणका क्रममा देखिने पुतली किरा अहिले आलु बारीमै देखिन थालेको बताउनुभयो । उहाँका अनुसार करिब तीन सय ४० रोपनीभन्दा बढिमा किसानले लगाएको आलुमा रोग किरा देखा परेको थाहाँ पाएपछि कृषि शाखाबाट एक जना प्राविधिक खटाइएको थियो ।
क्षतिगस्त आलुको बीउमा भएको लार्भाअवस्था बयस्कमा परिणत हुन गइ सो वयस्कले आलुबालीको पातमा फुल पारी सोबाट निस्किएको लार्भाले हाल आक्रमक रुप लिएको पाइएको हो ।
समस्याको रुपमा रोग किरा देखापरेपछि कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशाला बाट विज्ञसहितको टोलीले स्थालगत अनुगमन गरी उपचार सुरु गरेको छ । एकीकृत कृषि प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थ विज्ञ चित्रबहादुर रोकायाको नेतृत्वको टोलीले घटनास्थलमा पुगेर रोग किराको उपचार सुरु गरेको हो ।
यस प्रकोपको मुख्य कारण किसानले प्रयोग गरेको क्षतिग्रस्त बीउ भएको पाइएको छ । क्षतिग्रस्त बीउमा रहेको कीराको लार्भा अवस्था वयस्क पुतलीमा परिणत भई त्यसले खडाबालीमा आक्रमण गरेको पाइएको हो । वयस्क किराले बालीको पातमा अण्डा फुलाउँछ, र त्यसबाट निस्केको लार्भाले आलुको बोटमा ठुलो क्षति पुर्याएको छ ।
वनगाड कुपिण्डे नगरपालिका १२ वडा अध्यक्ष लालवहादुर घर्तिले खेतमै पुतली किराको प्रकोप देखिनु अत्यन्त चिन्ताको विषय भएको बताउनुभयो । उहाँका अनुसार, कृषकहरू वर्षे आलुलाई प्रमुख नगदे बालीका रूपमा लिन्छन् । यतिबेला उत्पादनको मुख्य चरणमा यस्तो प्रकोप आउँदा कृषकहरूको मेहनत र लगानी जोखिममा परेको छ ।
वनगाड कुपिण्डे नगरपालिका कृषि शाखा प्रमुख नारायण बेलवासेले समस्या भइसकेको र यसलाई सुधार गर्न तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँका अनुसार समस्या समाधानका लागि हामी दीर्घकालीन रणनीतिमा काम हुने छ । तत्कालको लागि विषादी वितरण र प्रविधिको प्रयोगमार्फत नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।
तत्काल समस्या समाधानका लागि एकीकृत कृषि प्रयोगशाला सुर्खेतले निम तेल, पि.टि.एम ल्युर, र विषादी छर्नका लागि स्प्रेयर ट्याङ्की समेत कृषकहरुलाई निःशुल्क प्रदान गरेको छ । प्राविधिक निरीक्षणपछि किराको प्रकोप रोकथामका लागि आवश्यक उपायहरू अपनाउन सुझाव दिइएको छ । कृषकहरूलाई सचेत गराउँदै कृषि प्राविधिकहरूले रोग फैलन नदिन खेतमै क्षतिग्रस्त बोटहरू हटाउने, पुराना बीउ प्रयोग नगर्ने र उचित जैविक नियन्त्रण उपाय अपनाउने सुझाव दिएका हुन् । निगांलचुलाका अधिकांश कृषकहरूको जीवनयापन कृषिमा आधारित रहेको हुँदा यस्तो समस्या दीर्घकालीन रूपमा दोहोरिन नदिन उचित बीउ छनोट, भण्डारण विधि सुधार र वैज्ञानिक कृषि पद्धतिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको कृषि विज्ञको भनाइ छ ।
कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थ विज्ञ चित्र बहादुर रोकायाले विशष गरी जलवायु परिवर्तनको पत्यक्ष असरले यो समस्या देखा परेको वताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दुई तीन वर्ष पहिले यो क्षेत्रमा यस्तो समस्या नदेखिएको र अहिले जलवायु परिवर्तन नै यसको कारक बनेको छ ।’’
पुतली किराको प्रकोपसँगै फेद काटने किराको पनि समस्या देखिएको छ । यसलाई सुधार गर्न उपरचार विधि सुरु गरिसकेको वरिष्ठ कृषि अर्थ विज्ञ रोकायाले बताउनुभयो ।