ललितपुर, वैशाख १३ गते । राष्ट्रिय फोटो पत्रकार मञ्च नेपालले गोरखापत्रका फोटो पत्रकार मनोजरत्न शाही र कविता थापालाई फोटो पत्रकारिता अवार्ड-२०२५ प्रदान गरेको छ।
शनिबार ललितपुरमा आयोजित पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्डको अवसरमा उहाँहरुलाई सम्मान प्रदान गरेको हो।गोरखापत्र अनलाइनका फोटो पत्रकार शाहीले पर्यटन तथा संस्कृति विधा र गोरखापत्र दैनिकका फोटो पत्रकार थापाले महिला समूहबाट अवार्ड जित्नुभएको हो। फोटो पत्रकारद्वयलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अवार्ड र सम्मान पत्र प्रदान गर्नुभयो।
सभामुख घिमिरेले फोटो पत्रकारिताको महत्त्वमा जोड दिँदै समाजका वास्तविक कथाको दस्तावेजीकरणमा फोटो पत्रकारको भूमिकाको प्रशंसा गर्नुभयो।
उक्त समारोहमा फोटो पत्रकार दीपेन्द्र ढुंगाना डेली लाइफ, स्कन्द गौतम राजनीति, राजीव हेङ्गाजु स्वतन्त्र, अभिषेक महर्जन मनोरञ्जन र चन्द्रबहादुर आलेले आर्थिक फोटो पत्रकारिता अवार्ड जित्नुभयो।
उक्त समारोहमा फोटो पत्रकारलाई प्रदेशस्तरीय अवार्डसमेत प्रदान गरिएको छ। कोशीका सुजन बज्राचार्य, मधेशका राम सर्राफ, बागमतीबाट नवीन पौडेल, गण्डकीका प्रेम थापा, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीका अमृतकुमार बुढाथोकी र सुदूरपश्चिम प्रदेशका लोकेश साउदले प्रदेश स्तरीय अवार्ड प्राप्त गर्नुभयो।