काठमाडौँ, फागुन १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध दिवस परिवर्तन प्रेमी नेपालीको साझा दिवस भएको बताउनुभएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको २९ औँ जनयुद्ध दिवसका अवसरमा मङ्गलबार प्रधानमन्त्रीले जनयुद्ध दिवसलाई देशैभर विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन अपिल गर्नुभएको छ ।
“जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन् । ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् । नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको भए पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तन प्रेमी नेपालीको साझा दिवस हो” विज्ञप्तिमा उल्लेख गर्दै भनिएको छ, “तसर्थ जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछु ।”
उहाँले जनयुद्धको साहस, वीरता र उत्सर्गको ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको बताउनुभयो । प्रधानमन्त्रीले जनयुद्धकै जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तसँगै धर्मनिरपेक्षता, समानुपातिक समावेशी एजेन्डा स्थापित हुनुका साथै उत्पीडित जाति, क्षेत्र, लिङ्गले अधिकार प्राप्त गरेको उल्लेख गर्नुभएको छ ।