• १२ साउन २०८१, शनिबार

कानुनले निषेध गरेको सुगाको व्यापार

blog

धनुषाधाम मेलामा बेच्न राखिएको सुगा । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ २९ गते । धनुषाको धनुषाधाम मेलामा कानुनले निषेध गरेको सुगाको व्यापार निर्बाधरूपमा भइरहेको छ । तराई क्षेत्रबाट समेत लोपजस्तै भइसकेको तथा कानुनले वर्जित गरेको सुगाको अवैध व्यापार धनुषाधाम मेलामा भइरहेको हो । 

सुगाको व्यापारमा संलग्न अधिकांश भारतीय रहेका छन् । पिँजडामा राखेर सुगा बेच्दैगरेका एक सुगा व्यापारीले छ सयदेखि आठसय रुपियाँमा एउटा सुगा बेच्नेगरेको बताउनुभयो । नाम ठेगाना बताउन नचाहेका ती व्यापारीले भारतको बिहारबाट सुगा ल्याएर यहाँ बिक्री गरिरहेको जानकारी दिनुभयो । 

नेपालमा सुगाको व्यापारमा प्रतिबन्ध लगाइएको कुरा थाहा रहेको बताउँदै ती व्यापारीले अहिलेसम्म रोकटोक गर्न कोही नआएको बताउनुभयो । स्थानीय दुर्योधन महतोले माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर सङ्क्रान्ति मेलाका दिन छ–सात जना भारतीय व्यापारी यहाँ सुगा बेच्न आउनेगरेको बताउनुभयो । 

मेला सुरक्षार्थ खटिएका प्रहरी र नजिकै रहेको वन कार्यालयका कर्मचारीले सुगाको अवैध व्यापारलाई रोक्ने प्रयास नगरेको उहाँको भनाइ छ । चराचुरुङ्गी तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा कार्यरत मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलका अनुसार सरकारले २०६८ मा जारी गरेको पन्छीपालन नीतिअनुसार कुखुरा, हाँस, बट्टाई, लौकाट, टर्की, परेवा, अस्ट्रिज, कालिज र च्याखुरा मात्र पालन गर्न पाइन्छ । 

अन्य चराहरू पाल्न नपाइने कानुनमा व्यवस्था छ । नीतिमा उल्लेख भए बाहेकका चराको व्यापार व्यवसाय गरेमा कानुनअनुसार कारबाही हुने व्यवस्था रहेको उहाँले बताउनुभयो । ऐनमा वन्यजन्तुको अवैध व्यापारमा संलग्न हुने व्यक्तिलाई अधिकतम १० लाख रुपियाँसम्म जरिवाना वा १५ वर्षसम्म कैद वा दुवै सजायको प्रावधान राखिएको छ । 

कानुनी प्रावधान कार्यान्वयन गर्न नेपालमा निकुञ्ज विभाग, वन विभाग र मातहतका कार्यालय, डिभिजनल वन कार्यालय र प्रहरीलाई जिम्मेवारी तोकिएको छ । यद्यपि बाघ, गैँडा, हात्तीको अवैध व्यापार नियन्त्रणको दाँजोमा अवैध चरा व्यापार नियन्त्रण कार्य ओझेलमा परेको अध्यक्ष मण्डलले बताउनुभयो । पिँजडामा चरा पाल्नेहरूका कारण सुगाको अवैध व्यापार निरुत्साहित हुन नसकेको उहाँको भनाइ छ । 

डिभिजन वन कार्यालय धनुषाका डिभिजलन प्रमुख बेचन चौधरीले सुगाको व्यापार कानुनको बर्खिलाप भएको बताउँदै त्यस्तो कारोबारीलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताउनुभयो ।