• १३ असोज २०८१, आइतबार

महिला यू–१९ राष्ट्रिय क्रिकेटमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी

blog

ब्याटिङ गर्दै कोहलपुर मेयर ११ महिला यू–१९ खेलाडी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ २८ गते । बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी भएका छन् । 

आइतबारको पहिलो खेलमा बागमती प्रदेशले विजयी सुरुवात गर्ने क्रममा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्‍यो । लगातार दोस्रो हार बेहोरेको लुम्बिनी पहिलो खेलमा कोहलपुर मेयर–११ सँग पराजित भएको थियो । 

कोहलपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ११७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर ब्याटिङ गरे पनि ७ विकेट गुमाएर १०८ रन मात्र बनायो ।

एन्जिला पाठकले अविजित ४२ रन बनाउनुभयो । पाठकले ५६ बलमा ४ चौका प्रहार गर्नुभयो । कप्तान आश्मा पुलामी मगरले २० तथा सुष्मिता भुसालले १० रन बनाउनुभयो । 

बागमतीको बलिङमा बिपिशा शाहीले २ विकेट लिँदा क्रिश्मा गुरुङ, मनीषा उपाध्याय र लक्ष्मी रुम्बाले १÷१ विकेट लिनुभयो । 

टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा ११६ रन बनायो । बागमतीको लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ४४ रन बिपिशा शाहीले १२ तथा साबिका यादवले ११ रन बनाउनुभयो । लुम्बिनीको बलिंगमा सुष्मिता भुसाल, आसमा पुलामी मगर र एन्जीला पाठकले १/१ विकेट लिनुभयो । 

आइतबार नै भएको दोस्रो खेलमा कोहलपुर मेयर–११ ले गण्डकी प्रदेशलाई ३४ रनले पराजित गर्‍यो । लगातार दोस्रो जित दर्ता गरेको कोहलपुर मेयर ११ ले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।  

कोहलपुर मेयर–११ ले दिएको १०० रनको लक्ष्य पछ्याएको गण्डकीले पुरै २० ओभर ब्याटिङ गरे पनि आठ विकेटको क्षतिमा ६५ रन मात्र बनाउन सफल भयो। गण्डकीको ब्याटिङमा सलिना सेनले १९ तथा सिमाना केसीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा योगदान दिन सकेनन् ।

कोहलपुर मेयर–११ को बलिङगमा दायाँ हाते फास्टबलर हैमवती रोयले सर्वाधिक तीन विकेट लिनुभयो । चार ओभर बलिङ गर्दै रोयले २५ रन खर्चिनुभयो । भवानी कमाती, प्रतिमा शाह, आरती महतो र रिया शर्माले १/१ विकेट लिनुभयो । 

टसजितेर ब्याटिङ गरेको कोहलपुर मेयर–११ ले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो ।  मेयर–११ को लागि सीमा कुँवरले सर्वाधिक ३० रन योगदान दिनुभयो जुन क्रममा उनले ४४ बलमा ३ चौका प्रहार गर्नुभयो ।  लिशा यादवले २२ तथा साना प्रभिनले १० रन जोड्नुभयो । 

गण्डकीको बलिंगमा रचना चौधरी र निरुता जिटिले समान ३ विकेट हात पार्नुभयो । निरुताले ३.४ ओभरमा १९ रन तथा रचनाले ४ ओभरमा ११ रन खर्चिनुभयो । कुसुम गोदार र आकृति तिवारीले १/१ विकेट हात पार्नुभयो ।