• १३ वैशाख २०८२, शनिबार

जिल्ला अदालतको सुविधा सम्पन्न भवन

blog

आइतबारबाट सेवा सुरु गरेको जिल्ला अदालत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-२ मा नवनिर्मित भव्य भवन ।

राममणि दाहाल

हेटौँडा, माघ २८ गते । मकवानपुर जिल्ला अदालतले आइतबारबाट सुविधा सम्पन्न भव्य भवनबाट सेवा सुरु गरेको छ। हेटौँडा उपमहानगरपालिका २ स्थित भूकम्प प्रतिरोधी, लिफ्ट, अपाङ्गमैत्री र सोलार प्यानल जडित नवनिर्मित भव्य भवनबाट आइतबारदेखि सेवा सुरु गरेको हो ।

मकवानपुर जिल्ला अदालतका नायव सुब्बा पुरुषोत्तम गुरागाईँले निर्माण कम्पनीसँगै ३० महिनाभित्रमा निर्माण पूरा गर्ने गरी निर्माण सम्झौता भएकोमा तोकिएको अवधिमा नै गत साउनमा नै निर्माण पूरा भएको जानकारी दिनुभयो । उहाँले भवन निर्माण बापतको रकम भुक्तानी दिन ढिलाइ भएका कारण हस्तान्तरणमा ढिलाइ भएको बताउँदै निर्माण कम्पनीले भुक्तानी हुन बाँकी हुँदै हस्तान्तरण गरेकोले नयाँ भवनबाट सेवा सुरु गरिएको बताउनुभयो । 

१९ करोड रुपियाँभन्दा बढी खर्चेर निर्माण गरिएको भूमिगत पार्किङस्थल सहित छ तले भवनमा सात वटा इजलास, प्रशासनिक प्रयोजनमा आउने एउटा सभा हल सहित ६० वटाभन्दा बढी कोठा र दुई वटा लिफ्ट छन् ।

पुरानो भवन भत्काएपछि जिल्ला अदालतले आफ्नो सेवा उच्च अदालत पाटन हेटौँडा इजलास परिसरमा रहेको भवनबाट प्रदान गर्दै आएको थियो । जिल्ला अदालतमा हाल चार जना न्यायाधीशसहित ६३ जना कर्मचारी कार्यरत छन् । पहिलेको भवन जीर्ण र साँघुरो बन्दै गएपछि पुरानो भवन भत्काएर नयाँ भवन निर्माण गर्न २०७७ साल फागुन २० गते शिलान्यास गरी गत साउनमा निर्माण पूरा भएको थियो ।