काठमाडौं, माघ २८ गते। गोरखापत्र दैनिकका सह-सम्पादक शेषकान्त पण्डितको निधन भएको १३ औँ दिनको पुण्यतिथिमा आइतबार नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाले शोक सभाको आयोजना गरेको छ।
शोक सभामा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले स्वर्गीय पण्डित हँसिलो, लगनशील र कर्तव्यनिष्ठ पत्रकार भएको स्मरण गर्दै उहाँको असामयिक निधनले गोरखापत्र र नेपाली पत्रकारिता जगतमा नै क्षति पुगेको बताउनुभयो।
गोरखापत्रका दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले स्वर्गीय पण्डित १५ वर्ष स्थायी सेवा र त्यसअघि पनि करार सेवामा रहेर गोरखापत्र दैनिकलाई अगाडि बढाउन योगदान पुर्याएको चर्चा गर्नुभयो।
उहाँले मृदुभाषी, मिलनसार स्वर्गीय पण्डितले विभिन्न विधामा खोज र अनुसन्धानमा लागेर पनि समाज र राष्ट्रलाई योगदान पुर्याउँदै आउनुभएको बताउनुभयो।
सभामा गोरखापत्रका प्रमुख समाचारदाता केदार भट्टराईले संस्थानमा रहेको कर्मचारी कोषलाई व्यवस्थित ढङ्गले सक्रिय गराउन सकेमा कर्मचारीलाई जटिल रोग लाग्दा संस्थानलाई अतिरिक्त भार नपर्ने गरी नै आर्थिक सहयोग गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाका अध्यक्ष राधा चालिसेले स्वर्गीय पण्डित पछिल्लो समय पत्रकारिता सँगसँगै पत्रकारिता र शिक्षाका विषयका पुस्तक लेखनमा समेत सक्रिय हुनुभएको स्मरण गर्नुभयो।
शोक सभामा गोरखापत्र दैनिक, दि राइजिङ नेपाल, मासिक प्रकाशन र अनलाइनका सम्पादक, पत्रकार र कर्मचारीको उपस्थिति रहेको थियो।