• १२ साउन २०८१, शनिबार

लिमीवासी अझै ढिके नुन प्रयोग गर्न बाध्य

blog

लिमीवासीले प्रयोग गर्ने चिनियाँ ढिके नुन ।

राजन रावत 

हुम्ला, माघ २८ गते । चीनसँगको सिमाना जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका स्थानीयवासीहरु अहिले पनि ढिके नुन प्रयोग गर्छन् । 

साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानी अनुदानमा उपलब्ध हुँदै आएको आयोडिनयुक्त नुन प्रयोग गर्दा महँगाे पर्ने भएका कारण लिमीवासी चिनियाँ ढिके नुन प्रयोग गर्छन् । 

लिमी स्वास्थ्य चौकीमा संयोजक गोर्ख भण्डारीले लिमीका तीनै वटा तील, हल्जी र जाङ गाउँका स्थानीय चिनियाँ ढिके नुन प्रयोग गर्न बाध्य भएको बताउनुहुन्छ । उहाँले सदरमुकाम सिमकोटबाट भन्दा चीनको ताक्लाकोटबाट नुन ल्याउन सहज हुने भएको कारण सो नुन स्थानीयले पुस्तौंदेखि प्रयोग गर्दै आएको बताउनुभयो । 

हाल लिमीमै रहनुभएका भण्डारीले आफूहरु पनि आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ भन्ने जानकारी पाएर पनि नपाए झैं गरी उक्त ढिके नुन प्रयोग गर्दै आएको बताउनुभयो । कतिपय लिमीवासीले बीसौं वर्ष पुरानो नुन प्रयोग गरिरहनुभएको छ । हाल लिमीमा दुई सय स्थानीयकाे बसोवास छ । 

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुनभन्दा चिनियाँ नुन सस्तो पर्ने भएको कारण ढिकै नुन प्रयोग गर्नु परिरहेको बताउनुभयो । उहाँले दुई वर्ष सदरमुकाम सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट प्रतिकेजी नौ रुपियाँमा किनेको आयोडिनयुक्त नुन लिमी पुग्दासम्म प्रतिकेजी चालीस रुपियाँ पुगेपछि लिमीवासीले सो नुन खानै छोडेको बताउनुभयो ।

लिमीका लागि नुन पाउने भए पनि महँगाे पर्ने भएकै कारण लिमीवासी ढिके नुनको प्रयोग गर्नुपर्ने बाध्यता छ । कतिपय लिमीवासीलाई आपोयिडयुक्त ढुवानी अनुदानको नुनको बारेमा जानकारी हुने गरेको छैन । पशुवस्तुदेखि मानिस सबैले चिनियाँ ढिके नुन प्रयोग गर्छन् । उहाँले साल्ट ट्रेडिङ कर्पोरेसनले अब लिमीसम्म ढुवानी अनुदानको व्यवस्था गरेर नुन पुर्‍य ाउनुपर्ने बताउनुभयो । सो व्यवस्था हुन नसक्ने हो भने लिमीवासीले कहिल्यै पनि ढुवानी अनुदानमा उपलब्ध हुँदै आएको आयोडिनयुक्त नुन प्रयोग गर्न सक्ने अवस्था देखिँदैन ।