• १४ फागुन २०८०, सोमबार

राजविराज कारागारको शौचालयमा बन्दी मृत फेला

blog

सप्तरी,  माघ २८ गते । बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् । 

राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आज मृत अवस्थामा फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिनुभयो । उहाँका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको हो ।

गत साउन १३ गते राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल गत भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए ।  

बालिकालाई घरबाट जबरजस्ती तानेर पाँच सय मिटर पूर्वपोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएक थिए । 

हनुमाननगर कङ्कालिनी–६ का २३ वर्षीय देवनाथ मण्डल, २३ वर्षीय श्यामसुन्दर मण्डल र २० वर्षीया जसोधाकुमारी मण्डलले हातखुट्टा समातेपछि देवेन्द्रले बालिकाको सिउँदोमा सिन्दूर हालेको पीडितका बुवाको भनाइ थियो ।  

जिल्ला प्रहरी कार्यालयले मण्डललाई गत साउन १७ गते पक्राउ गरेको थियो । प्रहरी कार्यालयमा गत साउन १८ गते बलात्कारको उजुरी दर्ता भएकोमा सप्तरी जिल्ला अदालतमा गत भदौ १० गते अभियोगपत्र दायर भएको थियो । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले मण्डललाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा राख्ने आदेश दिएको थियो । 

पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको घटना थाहा पाएलगत्तै कारागार प्रशासनले परिवारलाई जानकारी दिएको निमित्त कारागार प्रशासक दासले बताउनुभयो । परिवारका सदस्य आएपछि शवको मुचुल्का गरिने उहाँले जानकारी दिनुभयो । रासस