• ८ जेठ २०८१, मङ्गलबार

माओवादीमा आन्तरिक निर्वाचनको माग

blog

काठमाडौँ, माघ २८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा पार्टीमा आन्तरिक निर्वाचनको आवाज उठेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा बोल्ने नेताहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित गरेर युवालाई आकर्षित गर्नुपर्ने प्रस्ताव गरेका हुन् । 

माओवादीका सबैजसो कमिटीमा नेतृत्व चयन सर्वसम्मत बनाउने प्रयास गर्दा पार्टी चलायमान नभएको भन्दै पार्टीभित्र निर्वाचन हुनुपर्ने माग नेताहरूले गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताउनुभयो । “स्थायी समितिका सबै नेताले बोल्नुभयो । विधान नयाँ बनाउनु पर्छ । केन्द्रीय समितिबाट सुझाव लिएर विधान अधिवेशनमा छलफल गरी निर्णय गर्नु पर्छ भन्ने सुझाव आएका छन्,” उहाँले भन्नुभयो, “पुरानै ढर्राबाट पार्टी र आन्दोलन अगाडि बढ्न सक्दैन । यसलाई परिवर्तन गर्नु जरुरी छ । नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्न आन्तरिक निर्वाचन गर्न दिनु पर्छ ।” 

उहाँले एउटै व्यक्ति लामो समयदेखि एउटै कमिटीमा बस्दा युवा वर्गले मौका नपाएकाले चुनावी विधि अपनाउन सुझाव दिएको बताउनुभयो । “अब पार्टीभित्र चुनावी प्रतिस्पर्धा हुनु पर्छ । एउटै व्यक्ति २५/३० वर्षदेखि बसेको छ । अर्को व्यक्ति आउन पाएको छैन,” उहाँले भन्नुभयो, “निर्वाचन प्रणालीमा जाऊँ जो निर्वाचित भएर आउँछन्, उनै बस्छन् । चुनावै गर्नु पर्छ भनेर नेताले सुझाव दिनुभएको छ ।” 

पार्टी कमिटीहरू ठुला र भद्दा भएकाले सानो बनाउनुपर्ने नेताहरूले सुझाव दिएका छन् । यस्तै पार्टी जनवर्गीय सङ्गठनलाई स्वायत्त छोडेर जानुपर्ने नेताहरूले धारणा राखेका छन् । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटा बैठकमा ३९ जना स्थायी समिति सदस्यले खुला र स्पष्ट रूपमा आआफ्नो धारणा राखेको जानकारी दिनुभयो । “नेपालको समाजवादको मार्गचित्र, रूपरेखा र विचारधारा निर्माणमा छलफल भयो । समाजवादी आदर्श मूल्य मान्यतामा आधारित भई नेताहरूले धारणा राख्नुभयो,” उहाँले भन्नुभयो, “त्यसपछि सङ्गठनात्मक सबैको सुझावमा १५१ केन्द्रीय कमिटी बनाउनु पर्छ । अरू विधानमै केन्द्रित भई नेताहरू बोल्नुभयो ।” 

उहाँले पार्टी विधान एक हजार तीन सयको बिचमा छलफल भई विधान पारित भएपछि कार्यान्वयन गरेर जाने वातावरण बनाउन सुझाव आएको बताउनुभयो । आइतबार र सोमबार प्रज्ञा भवन कमलादीमा केन्द्रीय समिति बैठक बस्ने भएको छ । आगामी फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन आयोजना हुने भएको छ । 

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।